काठमाडौं– मुलुकमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि सरकारले अबको रणनीति कसरी अघि बढाउने भन्ने विषयमा छलफल अघि बढाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञ एवम् सरोकारावालासँग संक्रमणको अहिलको अवस्था र रणनीति कसरी अगाडि बढाउने विषयमा परामर्श गर्न लागेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले मंगलबार ११ बजे विज्ञहरुसँग छलफल गर्न लागेको जानकारी दिए।
‘प्रधानमन्त्रीले कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न लाग्नुभएको हो,’ थापाले भने, ‘विज्ञको सुझावका आधारमा अन्य रणनीति तय होला।’
संक्रमणको दर बढेपछि फेरि लकडाउन गर्ने कि भन्ने विषयमा छलफल भइरहेको छ।
विज्ञहरूले पनि अहिलेकै अवस्था कायम रहेमा भयावह स्थिति आउन सक्ने भन्दै समयमै लकडाउन वा अन्य विकल्प अपनाउनुपर्ने सुझाव दिँदै आएका छन्।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेयले कोभिड–१९ को संक्रमण र जोखिम बढ्दै जान थालेपछि आवश्यक परामर्शका लागि प्रधानमन्त्रीले छलफलमा डाकेको जानकारी दिए।
विज्ञहरुको सुझावका आधारमा सरकारले अबको रणनीति तय गर्ने देखिएको छ।
प्रधानमन्त्रीले कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रणमा के कस्ता रणनीति अपनाउन सकिन्छ भन्ने बारे यसअघि पनि विज्ञहरुसँग परामर्श गरेका थिए।
लामो समय लकडाउन कायमै भएपछि प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गरेरै केही खुकुलो बनाउने निर्णय गरेका थिए।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जोखिम बढ्न सक्ने आकलन गर्दै उच्च सतर्कता अपनाउन आवश्यक भएको निष्कर्ष पनि निकालिसकेको छ।
कोभिड १९ संकट व्यवस्थापन कार्य सञ्चालन केन्द्रका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले पनि स्थिति भयावह हुँदै गए पुनः लकडाउन गर्नैपर्ने अवस्था आउन सक्ने बताएका थिए।
अहिले २ नम्बर प्रदेशको वीरगन्ज क्षेत्रमा कोरोना भाइरसको संक्रमणको जोखिम उच्च बनेको छ।
त्यस्तै काठमाडौं उपत्यका क्षेत्रमा पनि दिनप्रतिदिन जोखिम बढिरहेको छ।
नेपालमा अहिले पछिल्लो समय लक्षण भएका कोरोना संक्रमित भेटिन थालेका छन्।
सरकारले संक्रमण समुदायस्तरमै फैलिसकेको औपचारिक पुष्टि गरिसकेको छैन। तर, केही ठाउँमा देखिएको संक्रमणको अवस्थालाई हेर्दा भने समुदायमा फैलिएको हो कि भन्ने आंकलन गरिएको छ। त्यसका लागि सरकारले आवश्यक अध्ययन पनि गरिरहेको छ।
सरकारले नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि ११ चैत २०७६ देखि लकडाउन गरेको थियो।
साउन ६ गते राति १२ बजेदेखि लागू हुने गरेर लकडाउन हटाइएको थियो। नेपालमा आजसम्म २० हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।
पछिल्लो २४ घण्टामा मात्रै ४१८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणबाट ५७ जनाको मृत्यु भइसकेको छ।