शनिबार, असोज १७, २०८३

पदयात्राको वातावरण बनाउन व्यवसायीको माग

पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट पनि लिएर आउने भएकोले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउनुपर्ने पथप्रदर्शक दुर्गा राईले बताए।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं- पर्यटन व्यवसायीहरूले विदेशी पर्यटकलाई पनि नेपालको पदयात्रामा आउने वातावरण तयार गर्न माग गरेका छन्। पर्यटनसँग सम्बद्ध विभिन्न व्यावसायिक संस्थाहरूले सरकारसँग यस्तो माग गरेका हुन्। 

पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट पनि लिएर आउने भएकोले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउनुपर्ने पथप्रदर्शक दुर्गा राईले बताए। 

यस्तै ट्रेकिङ एजेन्सीको छाता संस्था टानका अध्यक्ष खुमबहादुर सुवेदीले अन अराइभल भिसा खुला गर्ने र क्वारेन्टाइन बस्ने नियमलाई हटाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने बताए। 'एक जना पर्यटक पदयात्रामा जाँदा कम्तीमा २० जनाले रोजगारी पाउने र अर्थोपार्जन हुने अनुमान गरिन्छ। साहसिहसिक पर्यटन, हिमाल आरोहण, पदयात्रालाई मात्र पनि खोल्नसके पर्यटन सिजनसँगै चलायमान बनाउन सकिन्छ,' उनको भनाइ छ। 

पदयात्रा व्यवसायी सदर्शन नेपालले डेढ दशकदेखि सकारात्मक लयमा रहेको नेपालको पर्यटन व्यवसाय कोरोनाको कारण नराम्रोसँग थलिएको बताए। तर संक्रमणको जोखिम कम भएका मुलुकबाट नेपालबारे चासो बढ्न थालेको उनको भनाइ छ। 'सरकारले भिसा र क्वारेन्टाइनको विषयमा समयमा नै निर्णय नलिए व्यवसायी उठ्नै नसक्ने गरी थलिने सम्भावना छ,' नेपालले भने, 'अब पनि पुनर्विचार नगर्ने हो भने पछुताउनुपर्ने अवस्था सिर्जना हुन सक्छ।'

कोरोना संक्रमणको जोखिम बढ्नुअघि नेपालले भ्रमण वर्ष मनाउने तयारी गरिरहेको थियो। २०२० मा २० लाख पर्यटक ल्याउने तयारी हुँदै गर्दा कोरोनाले सबै कार्यक्रम बिथोलिदियो। अहिले संक्रमणको दर क्रमशः घटिरहेको र खोप लगाउनेको संख्या बढीरहेकोले विभिन्न क्षेत्रका पर्यटन व्यवसायीले सहज वातावरण बनाउन सरकारसँग अनुरोध गरेका हुन्।  

खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ रुटमा विदेशीसँगै आन्तरिक पर्यटकको पनि चासो बढीरहेको छ। नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ। यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्राको पर्यटनलाई खुला गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ। नेपाल बाहिर धेरै देशले आफ्ना नागरिकहरुलाई खोपको पूरा मात्रा लगाइसकेको छ। 

प्रकाशित: Sep 19, 2021| 16:15 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्