पोखरा– गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको टोलीले आइतबार बेनी–जोमसोम सडक निरीक्षण गरेको छ।
समिति सभापति दीपक कोइरालाको नेतृत्वमा सांसदहरु विनोद केसी, चन्द्रमोहन गौचन, मीनप्रसाद गुरुङ समितिका सचिव सिर्जना आचार्यलगायत सहभागी टोलीले बेनीदेखि गलेश्वरसम्मको सडक निरीक्षणका साथै पहिरोले जिल्लामा पुर्याएको क्षति, राहत, व्यवस्थापन र पुनस्र्थापनाका लागि भएका पहलका विषयमा सरोकारवालासँग जानकारी लिएको छ।
बाढीपहिरोले अवरुद्ध बेनी–जोमसोम लगायतका सडक खुलाउन, पहिरो पीडितको व्यवस्थापन र पुनर्वासका लागि सरकारलाई सुझाव दिन स्थलगत निरीक्षण तथा सरोकारवालासँग छलफल गरिएको सभापति कोइरालाले बताए।
असार २६ गतेयताको पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक दर्जनौं ठाउँमा अवरुद्ध बनेको छ। बाढीपहिरोका कारण म्याग्दीको धवलागिरी, मालिका, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा ३१ जनाको मृत्यु भएको छ। अझै चारजना बेपत्ता छन्।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पहिरो पीडितको तत्कालीन व्यवस्थापनका लागि सडक र घोरेटो बाटोको सम्पर्क स्थापित गराउन, क्षतिको विवरण र थप जोखिम पहिचानमा जुटेको बताए।
बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले पहिरो र बाढीका कारण मानवीय साथै सडक, भवन, निजी घर, सिँचाइ, खानेपानी लगायतका आयोजनामा ठूलो क्षति पुगेको र पहिरो प्रभावितलाई स्थानीय तहले प्रारम्भिक राहतको व्यवस्था मिलाएको बताए।