बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६ दिनपछिको छलफल पुरानै अडानमा केन्द्रित, दुई अध्यक्ष भोलि पनि बस्ने

६ दिनपछिको छलफल पुरानै अडानमा केन्द्रित, दुई अध्यक्ष भोलि पनि बस्ने

दाहाल र वरिष्ठ नेता खनालले पार्टीलाई सहमतिबाट अघि बढाउने हो भने कुनै एक पद छाड्नुपर्ने धारणा राखेका थिए। करिब १० बजे शुरु भएको छलफल १ बजेसम्म चलेको थियो।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं– १३ साउनमा बोलाइएको नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको संवाद ६ दिनदेखि बन्द थियो।

दोस्रो तहका नेताहरुको प्रयासपछि आज दुई अध्यक्षबीच भेटवार्ताको समय तय गरियो। दाहाल एक्लै ओलीलाई भेट्न बालुवाटार गएनन्। उनले साथमा वरिष्ठ नेता झलनाथ खनाललाई समेत लिएर गए।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसहित दुई अध्यक्षबीच ६ दिनपछि भएको आजको संवाद पनि पूर्ववत् अडानमा नै केन्द्रित रहन पुगेको छ। दाहाल निकट स्रोतका अनुसार आजको बैठकमा दुई अध्यक्षबीच संवादको वातावरण बने पनि ठोस सहमति भने केही हुन सकेन।

६ दिनपछि नेताहरुलाई साक्षी राखेर छलफल गरेका दुई अध्यक्षबीच पुरानै अडान कायम भएको स्रोतले बताएको छ। ‘आजको छलफलमा पनि अध्यक्ष ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने तर अन्य विषयमा छलफल गर्ने कुरा राख्नुभयो,’ स्रोतले भन्यो।

दाहाल र वरिष्ठ नेता खनालले भने पार्टीलाई सहमतिबाट अघि बढाउने हो भने कुनै एक पद छाड्नुपर्ने धारणा राखेका थिए। करिब १० बजे शुरु भएको छलफल १ बजेसम्म चलेको थियो।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाले पनि दुई अध्यक्षबीच ६ दिनपछि छलफलको शुरुवात भएको बताएका छन्। ‘केही दिन छलफल नै रोकिएको थियो, आजदेखि छलफलको वातावरण बनेको छ,’ उनले भने, ‘छलफललाई निरन्तरता दिने भन्ने छ।’

ओली निकट स्रोतका अनुसार दुई अध्यक्षबीच भोलि पनि छलफल हुने कार्यक्रम छ। पार्टीभित्र देखिएको विवाद समाधानतर्फ केन्द्रित गर्नुपर्ने निष्कर्षमा भने दुवै अध्यक्ष पुगेका छन्।

असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन दबाब दिएका थिए। तर, ओली पद नछाड्ने अडानमा रहेपछि विवाद लम्बिँदै गएको छ।

दाहाल–नेपाल निकटका नेताहरुले पदका लागि अहिलेको विवाद नभएको दावी गर्दै आए पनि ओलीले दुईमध्ये एकपद छाड्नुपर्ने मागले भने उनीहरुबीच पदकै कारण विवाद देखिएको विश्लेषकहरु बताउँछन्।

प्रकाशित: Aug 02, 2020| 17:02 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।