काठमाडौं- गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई ३२ वटा सवारी साधन प्रदान गरेको छ।
प्रदेश प्रहरी तथा मातहतका प्रहरी कार्यालयहरुका लागि प्रदेश सरकारले चार वटा पिकअप भ्यान र २८ वटा मोटरसाइकल प्रदान गरेको हो।
प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महनिरीक्षक घनश्याम अर्याललाई आइतबार एक कार्यक्रममा सवारी साधनको चाबी हस्तान्तरण गरे।
प्रदेशअन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई समाजमा शान्ति सुरक्षा कायम गर्न तथा प्रहरी सेवा प्रभावकारी बनाउन सवारी साधन प्रदान गरेको मुख्यमन्त्री गुरुङले बताए।
यस्तै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बताउन सवारी साधन प्रदान गरिएको बताए।
डिआइजी अर्यालले प्रदेश थपिएका सवारी साधनले गण्डकी प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा थप मद्दत पुग्ने बताए।