काठमाडौं– सत्तारुढ नेकपा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री कर्ण थापाले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एकताबद्ध बनाउन सबैको पहल आवश्यक रहेको बताएका छन्।
नेता थापाले दुई अध्यक्षलाई लडाएर आफ्नो स्वार्थसिद्धि गर्ने काम मात्रै नगर्ने हो भने पार्टी एकताबद्ध भएर राष्ट्र निर्माणको अभियानको नेतृत्व गर्न सक्षम हुने बताएका हुन्।
‘कम्युनिस्ट आन्दोलनको इतिहास नियाल्ने हो भने प्रतिष्ठामा आधारित गुटउपगुटको समीकरणले पार्टीभित्र अनावश्यक किचलो, फुट र विभाजन भएर कम्युनिस्ट आन्दोलन कमजोर भएको पाइन्छ,’ उनले भने।
तत्कालीन माओवादी केन्द्रमा दाहालविरुद्ध मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतका नेताको समीकरण भएपछि पार्टी विभाजन भएको उनको भनाइ छ।
‘तत्कालीन नेकपा एमालेमा वामदेव गौतम, सीपी मैनाली र झलनाथ खनालको माधव नेपालविरुद्ध समीकरण भएपछि विभाजन भएको थियो,’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनभित्रका सबै किचलो, टुटफुट र विभाजनका नकारात्मक शृङ्खला अन्त्य गर्दै राष्ट्र निर्माणको अभियानको अगुवाइ गर्ने उद्देश्यले नेकपा निर्माण भएको हो।’
प्रतिष्ठामा आधारित गुटउपगुटको समीकरण नै नेकपाको मूल समस्या रहेको नेता थापाको बुझाइ छ। थापा अध्यक्ष ओली निकट मानिन्छन्।