स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्ड संशोेधन गरेको छ।
संशोधित नयाँ मापदण्डअनुसार ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न कठिनाइ हुने, स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका बिरामीको पनि पीसीआर परीक्षण गरिनेछ।
नयाँ मापदण्ड अनुसार लक्षणसहितका सबै बिरामी, संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा आएका मानिसहरु, श्वासप्रश्वासजन्य समस्या भएका बिरामी, कोरोना नियन्त्रणका लागि अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु र १४ दिनभित्रमा कोभिड–१९ संक्रमणको क्षेत्रमा भ्रमण गरेका व्यक्तिहरुको पनि पीसीआर परीक्षण गरिनेछ।
त्यस्तै स्थल तथा हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनमा राखेको एक साताभित्र परीक्षण गरिसक्ने मापदण्ड बनाइएको छ। आईसियुमा रहेका सबै बिरामी, दीर्घरोगी, ६० वर्ष उमेर पार गरेकाहरु, चिकित्सकीय मूल्याङ्कनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीको पनि पीसीआर गरिनेछ।
साथै संक्रमितको सम्पर्कमा आएका तथा फ्रन्टलाइनमा काम गर्नेहरुका साथै चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर र अत्यन्त गम्भीर अवस्थाका कोरोना संक्रमित डिस्चार्ज गर्दा पनि पीसीआर परीक्षण गरिनेछ।
यसअघिको मापदण्डले कोरोना परीक्षणको दायरा खुम्च्याएको भन्दै विज्ञहरुले विरोध गर्दै आएका थिए। मन्त्रालयले बनाएको नयाँ मापदण्डलाई उनीहरुले सकारात्मक रुपमा लिएका छन्।
डा. अनुप सुवेदीले ट्विटरमा नयाँ मापदण्डको स्वागत गर्दै सकारात्मक रहेको बताएका छन्। अर्का जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले पनि नयाँ गाइडलाइन सकारात्मक रहेको बताएका छन्।