पर्सा- वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीकी श्रीमती र छोरीसहित पर्सामा थप ४५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये १४ जना महिला र ३१ जना पुरुष रहेका रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमितहरु ५ वर्ष देखि ६२ बर्ष उमेर समूहका छन् भने अधिकांश वीरगन्जको बजार क्षेत्रका छन् ।
सबैभन्दा बढि वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १६ जना छन्। त्यसै गरी वडा नम्बर ४ विर्ता र भगवती टोलका १५ जना रहेको वीरगञ्जको नारायणी अस्पतालको बिशेष कोभिड अस्पताल गण्डकका इन्चार्ज डा निरज कुमार सिंहले बताए।
त्यसैगरी ड्राइपोर्टका ५, छपकैयाका १, वीरगञ्ज ८ का १, वीरगञ्जको मनियारीका १ जना रहेका छन।
वीरगञ्ज बाहिरको पालिकाहरुमा ठोरीको निर्मलवस्तीका १, सखुवाप्रसौनीका १ जना रहेको डा सिंहले बताए।
पर्सामा नयाँ थपिएका संक्रमितसहित अहिलेसम्म कुल संक्रमितको संख्या ५ सय ४ पुगेको छ।