भैरहवा- ऐतिहासिक दर्बाह क्षेत्रको संरचना तोडफोडको पूर्वसूचना पाउँदा पनि नरोकेको भन्दै जनप्रतिनिधिले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) महादेव पन्थ र प्रहरी प्रमुख हेमकुमार थापाको राजीनामा माग गरेका छन्।
शुद्धोधन गाउँपालिका ५, स्थित दर्बाहा बगैँचा तथा सीमसार क्षेत्रको तारबार र पर्खाल भत्काउनेहरुलाई प्रहरीले रोक्नुको साटो सहयोग गरेको जनप्रतिनिधिको आरोप छ।
उक्त क्षेत्रमा शुक्रबार दिउँसो स्थानीय वीरेन्द्र माध्यमिक विद्यालयका प्रअ कृष्ण चौधरी तथा स्थानीय शेरबहादुर काफ्ले र विपिन कुर्मी नेतृत्वको समूहले तारजाली, पर्खाल तोडफोड गरिएको गाउँपालिकाको आरोप छ।
गाउँपालिकाले मानपकडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सांसद तुलसीप्रसाद चौधरीले दर्बाहको संरचना भत्काउँदा पनि प्रहरी निरीक्षकसहितको टोली रमिते बनेको आरोप लगाए। उनले शान्ति सुरक्षा कायम गर्न नसक्ने प्रजिअ र प्रहरी प्रमुखलाई तत्काल कारवाही गर्न संघीय सरकारसँग माग गरे।
उक्त संरचना भत्काउने पूर्वसूचना आफूले पाएपछि प्रजिअलाई जानकारीसमेत गराएको उनको भनाइ छ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष किशुसन चौधरीले पनि प्रहरी प्रमुखलाई तत्काल कारवाही गर्न माग गरे। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीले प्रहरीले चाहे संरचना नभत्किने अवस्था रहेको बताए।
मानपकडीको दर्बाहमा गाउँपालिकाले दर्बाह मन्दिर र त्यसको वरिपरिको खाली जमिनमा दर्बाह उद्यान बनाएको छ। उक्त उद्यानमा गाउँपालिकाले स्थानीयको सहमतिमा गुरुयोजना बनाएर काम गरिरहेको छ।
गाउँपालिकाको पहिलो गाउँसभाले ४० लाख विनियोजन गरेर उक्त स्थलमा उद्यान बनाउन थालिएको थियो। त्यसपछि आव ०७४/०७५ मा सुरु भएको गुरुयोजना बनाएर काम थालिएको थियो। त्यसपछि आव ०७५/०७६ मा पनि ४० लाख रुपैयाँ बजेट विनियोजन भइ नदी तटबन्ध भइसकेको छ।
गत आवमा प्रदेश सरकारअन्तर्गतको पर्यटन मन्त्रालयको ३० लाख, गाउँपालिकाको ५० लाख र प्रदेश सरकारको समानीकरण बजेटबाट ५० लाख रुपैयाँ गरि १ करोड ३० रुपैयाँको लागतमा संरचना निर्माण भइरहेको छ।
दर्बाह मन्दिरको ऐतिहासिकतासहित संस्कृति झल्किने गरि उद्यान निर्माण गर्ने र त्यससँगै जोडिएको नदीमा डुंगा चलाउने तयारी भइरहेको छ।
गाउँपालिका अध्यक्ष चौधरीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “शेरबहादुर काफ्ले, विपिन कुर्मी र कृष्ण चौधरीले योजनाबद्धरुपमा उक्त संरचना तोडफोड गरे। सार्वजनिक सम्पत्ति तोडफोड गर्नेहरुलाई सार्वजनिक फौजदारी अपराधमा कारवाही गर्न र तिनीहरुबाटै नष्ट गरिएको संरचनाको मूल्यांकन गरि क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायसँग माग गर्छाैं।”
इलाका प्रहरी कार्यालय, छपियाका प्रहरी निरीक्षक रवीन्द्र खड्काले त्यहाँ आएका मानिसको तुलनामा प्रहरीको संख्या थोरै हुँदा नियन्त्रण गर्न नसकिएको बताए। उनले भने, “हामीले रोक्ने कोसिस गरेको हौं, सकेनौं।”