काठमाडौं– महानगरीय प्रहरी वृत्त दरबारमार्गका चालक प्रहरी जवान बहादुरसिंह कडायतलाई काठमाडौंमा १५ किलो अवैध सुनबारेको सूचना पुग्यो। त्यो सूचना अरु कसैलाई नभनेर उनी सुनको खोजीमा लागे। सुन बोकेको गाडी र त्यसमा संलग्न गिरोहको पहिचान पनि गरे।
त्यसपछि उनी बार्गेनिङमा लागे। १५ लाख रुपैयाँ दिन उक्त गिरोह तयार पनि भयो। पछि केमा कुरा मिलेन, कडायतले मंगलबार बिहान सुन्धाराबाट उक्त सामान भएको झोला नै नियन्त्रणमा लिए।
स्रोतका अनुसार कडायतले उक्त सूचना सोमबार नै दरबारमार्ग वृत्तकै घुमुवा सादा पोशाकका प्रहरी जवान प्रशन्न श्रेष्ठलाई पनि भनेका थिए।
श्रेष्ठले त्यो सूचना सोमबार मध्यराति डीएसपी रञ्जन दाहालसमक्ष पुर्याएका थिए। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार उक्त सूचना कडायतको हो भन्ने कुरा श्रेष्ठले दाहाललाई नभनेको खुलेको छ।
डीएसपी दाहाललाई नक्सालस्थित म्यारियट होटल छेउको अपार्टमेन्टबाट सुन र हात्तीसारको भिसा स्टेसनतिरबाट गाडी आउने सूचना पुगेको थियो। त्यही सूचनाका आधारमा डीएसपी दाहालको टोली सिद्धार्थ बैंक छेउमा बसेको थियो।
त्यसलगत्तै दाहालको टोली सुन्धारा पुगेको र त्यहाँ पुगेपछि मात्र उक्त सूचना श्रेष्ठले कडायतबाट पाएको कुरा दाहालले थाहा पाएका थिए। त्यस अघिसम्म श्रेष्ठले आफ्नै सूचना हो भनेका थिए।
दाहालले कडायतको संलग्नताबारे ढिलो गरी थाहा पाएपछि टोली कडायतको खोजीमा बढी केन्द्रित भएकाले गाडी फुत्केको ती अधिकृतले बताए।
प्रहरी जवान कडायतले लामो समय लाजिम्पाट बिटमा काम गरेका थिए। त्यहीँ उनको जेम एण्ड ज्वेलरी पसलका सञ्चालक कौशल पटेलसँग चिनजान भएको थियो। पटेल तिनै हुन्, जसले अवैध १५ किलो सुन आउँदैछ भन्ने सूचना कडायतलाई दिएका थिए।
प्रहरी जवान प्रशन्न श्रेष्ठले आफन्त उमेश श्रेष्ठको बागबजारस्थित घरमा लुकाउन लगाएको एक किलो सुनजस्तो देखिने धातु फेला परेपछि कडायत र श्रेष्ठ मिलेर सुन हिनामिना गरेको निष्कर्षमा अनुसन्धान टोली पुगेको छ।
यसैबीच चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिकलाई पनि प्रहरीले पक्राउ गरेको छ। न्यूरोडको सुन पसलमा काम गर्ने मल्लिकलाई काठमाडौं प्रहरी परिसर टेकुको टोलीले बिहीबारै पक्राउ गरेको हो।
मल्लिकबाट चाँदीमा सुनको जलप लगाउन निर्देशन दिने व्यक्तिबारे पहिचान खुलिसकेको स्रोतले बतायो। प्रहरीले उक्त घटनामा प्रयोग भएको बा ६ च ५५१९ नम्बरको जिप पनि बिहीबार ललितपुरबाट नियन्त्रणमा लिएको छ। सोही घटनामा दरबारमार्गका डीएसपी दाहाललाई पनि जिम्मेवारीबाट हटाइएको छ।