सुर्खेत– जाजरकोटमा विषालु च्याउ खाँदा बिरामी भएका थप एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका– १ का २१ वर्षीय ललित चलाउनेको मृत्यु भएको हो ।
साउन ९ गते च्याउ खाँदा बिरामी परेकी ललिताको उपचारका क्रममा मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका फिजिसियन डा. केएन पौडेलले जानकारी दिए । साउन ९ गते विषालु च्याउ खाँदा टेकबहादुर चलाउनेका आठ जनाको परिवार नै बिरामी परेका थिए ।
बिरामी भएका ५० वर्षीय टेकबहादुर, उनकी बुहारी ३० कल्पना र छोरी १५ वर्षीया पशुपतिको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । तीनै जनालाई आईसीयूमा राखेर उपचार भइरहेको र बिरामीको अवस्था सुधारोन्मुख रहेको डा. पौडेलले बताए ।
त्यस्तै टेकबहादुरकी छोरीहरु १६ वर्षिया औसरा, १३ वर्षीया धनसरा, ११ वर्षिया अञ्जना र नातिनी ११ वर्षीया निरुताको यसअघि नै मृत्यु भइसकेको छ । औसरा, धनसरा र निरुताको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो भने अञ्जनाको गाउँमै मृत्यु भएको थियो ।