काठमाडौं– विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनकोे लागि आजदेखि चौथो चरणको चार्टर उडान सुरु भएको छ।
कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि २४ साउनसम्म उडान हुने भएको हो।
नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नेछन्।
यो बीचमा नेपाल एयरलाइन्सले १८ उडान गर्नेछ। दुबई, दोहा, दमाम, जेदाह, क्वालालम्पुर र नारितामा चार्टर उडान हुने निगमले जनाएको छ।
त्यस्तै हिमालय एयरलाइन्सले पनि १८ उडान गर्ने जनाएको छ। हिमालयले कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्नेछ।
नेपाल एयरलाइन्सले आज कुवेत र दुबईबाट उडान गर्दैछ भने हिमालय एयरलाइन्सले दोहा र अबुधाबीबाट नेपाली ल्याउनेछ।
त्यस्तै अन्तर्राष्ट्रिय एयरलाइन्स जजिरा एयरले कुवेत, इतिहाद एयरले अबुधाबी, एयर अरेबियाले सारजाह, फ्लाइ दुबईले दुबई, मालिन्दो एयरले क्वालालम्पुर र कतार एयरवेजले दोहाबाट काठमाडौं उडान गर्नेछन्।
सरकारले १६ जेठदेखि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। हालसम्म ३६ हजारभन्दा बढी नेपाली स्वेदश फर्किएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
१ भदौदेखि नियमित रुपमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने सरकारले निर्णय गरिसकेको छ।