काठमाडौं– नेपालमा लक्षणसहितका कोरोना संक्रमित बढेसँगै मृत्युदर पनि ह्वात्तै बढेको छ।
साउन महिनाको पछिल्लो १० दिनमा मात्रै १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार साउन १३ गतेबाहेक साउन ६ देखि १५ गतेसम्म दिनहुँ संक्रमितको मृत्यु भएको छ।
साउन १२, १०, ९, ८ र ७ गते १/१ जना संक्रमितको मृत्यु भएको थियो। साउन ६ गते २ जनाको मृत्यु भयो भने साउन ११, १४ र १५ गते ३ जनाको मृत्यु भएको छ ।
साउन १५ गते बिहीबार मृत्यु भएका तीनै जना संक्रमितको वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो।
मृतकमध्ये एक जना ३५ वर्षीय युवा, एकजना ७० वर्षीय वृद्ध र एकजना ५६ वर्षीय भारतीय नागरिक छन् । भारतीय नागरिक जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हुन्।
साउन १४ गते बुधबार मृत्यु भएका तीन जनामध्ये २ जनाको वीरगन्जमा र एक जनाको धरानमा मृत्यु भएको थियो ।
नेपालमा जेठ ३ देखि साउन ६ गते अघिसम्म ६७ दिनमा ४० जनाको मृत्यु भएको थियो ।
नेपालमा कोरोनाबाट पहिलो मृत्यु जेठ ३ गते शनिबार काभ्रेको धुलिखेल अस्पतालमा सुत्केरी महिलाको भएको थियो। अहिलेसम्म कोरोनाबाट ५५ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमितको मृत्युदर बढेसँगै लक्षणसहितका संक्रमितको संख्या पनि बढेको छ । पछिल्लो पटक देखिको एक तिहाई संक्रमितमा कोरोनाको लक्षण देखिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिर अधिकारीले जानकारी दिए ।
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले लक्षणसहितको संक्रमण देखिनु र मृत्युदर बढ्नुले नेपालमा कोरोनाको जोखिम थप बढेको बताए।
उनका अनुसार कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेकाले जुनसुकै बेला जोसुकैको मृत्यु हुने जोखिम बढेको छ। ‘अब पनि समुदायमा परीक्षण नगर्ने हो भने यसले भयावह रुप लिन सक्छ’, उनले भने।
नेपालमा अहिलेसम्म १९ हजार ५ सय ४७ भन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।