विराटनगर– कोशी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ मा विहिबार राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको बस राती साढे ८ वजेतिर आरती स्ट्रिप्स अगाडि दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताए । उनका अनुसार लेन छुट्याउन सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएर बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर पाँच जना घाइते भएका मध्ये करिव ३० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको पहिचान खुलेको छैन । उनको साथबाट परिचय खुल्ने कुनै पनि कागजपत्र फेला नपरेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि टंकीसिनवारीस्थित विराट टिचिङ अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए। परिचय नखुलेकी करिव ४५ वर्षीया महिलाको विराटमै उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका अन्य तीन जनाको भने परिचय खुलेको छ ।
घाइते भएका २५ वर्षीय रामकुमार राई, २८ वर्षीय कल्पना राई र ३५ वर्षीया मुना राईको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीनै जना भोजपुरको रामप्रसाद राई गाउँपालिकाका बासिन्दा रहेको खुलेको छ ।