पर्सा– वीरगन्जमा कोरोना संक्रमण समुदायमा फैलँदै गएपछि संक्रमितलाई उपचारको लागि वीरगन्ज हेल्थ केयर अस्पताल पनि सहमत भएको छ ।
अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारीले बिहीबार जिल्ला संकट व्यवस्थापन समिति पर्सालाई पत्र लेख्दै अस्पताललाई कोभिड–१९ अस्पतालमा रुपमा प्रयोग गर्न दिन तयार रहेको जनाएका छन् ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत रहने गरी वीरगन्ज हेल्थ केयर अस्पताललाई कोभिड १९ अस्पतालको रुपमा प्रयोग गर्न दिन तयार रहेको अध्यक्ष अन्सारीले बताए ।
कोरोना संक्रमितका लागि तयार पारिएको स्वास्थ्य मापदण्ड र संक्रमितको उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउनुपर्ने शर्तमा अस्पताल उपलब्ध गराइएको डा. अबुल हैस अन्सारीले जानकारी गराए । अस्पतला एक सय बेड क्षमताको छ।
यसैगरी अस्पतालका स्वास्थ्यकर्मी र अस्पतालको व्यवस्थापन नेपाल सरकारको मातहत रहेको नारायणी अस्पतालले गर्नुपर्ने उनको दोस्रो शर्त छ । यसैगरी अस्पताल खाली गराउनु परेमा १५ दिनअघि सूचना दिइने र सो अनुसार अस्पताल खाली गर्नुपर्ने अस्पतालका अध्यक्ष अन्सारीको तेस्रो शर्त रहेको छ।
ती शर्तअनुसार कोरोना संक्रमितको उपचारका लागि अस्पताल उपलब्ध गराउन सहमत भएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले जानकारी दिए । उनकै अध्यक्षतामा बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वीरगन्ज हेल्थ केयर अस्पताललाई कोभिड अस्पतालका रुपमा संचालन गर्न केन्द्रीय संकट व्यवस्थापन केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा अनुमतिका लागि सिफारिस गरेर पठाएको थियो ।
यसअघि ५० बेडको क्षमतामा गण्डक हस्पिटलमा आइसोलेसन बनाइएको छ । हाल पर्सामा १८० जना संक्रमित घरमै छन् भने ५६ जना अस्पतालमा छन्।