बिहीबार थप ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ।
नेपाल प्रहरी अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा हेडक्वार्टरमा कार्यरत थप ३ जना प्रहरीमा कोरोना पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हेडक्वार्टरमा मात्रै काेराेना संक्रमितकाे संख्या ४७ पुगेकाे छ।
महाशाखाका अनुसार आज काठमाडौंमा देखिएका ४१ जनामध्ये ३ जना प्रहरी हुन् ।
उपत्यकामा देखिएका अन्य संक्रमितहरु बाहिरबाट आएका, अस्पतालमा भर्ना भएकाहरु रहेको महाशाखाले जनाएको छ ।
सरकारले काठमाडौं भित्रिने विभिन्न नाकामा १० हजार नमुना संकलन तथा परीक्षण गर्ने लक्ष्यअनुसार हालसम्म ८ हजार ४०१ नमुना संकलन गरी परीक्षणको क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
साँगाबाट २ हजार ४०९, फर्पिङबाट १ हजार २८२ र थानकोटबाट ४ हजार ७१० गरी ८ हजार ४०१ नमुना संकलन भएको थियो । मन्त्रालयले देशभरको संक्रमणको अवस्था बुझ्न नाकामै यात्रुहरुको नमुना संकलन सुरु गरेको हो ।