कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन्। बिहीबार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो।
'घटनाको अनुसन्धान गरेका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)बाट गएका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो। उनीहरु सबै जनालाई सफाइ दिने फैसला भएको छ,' कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार यदुराज शर्माले नेपाल समयसँग भने।
उनीहरुविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको भनेर उजुरी दिएकी थिइन् भने प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्टका तर्फबाट दाजु खड्कसिंह विष्टले यातना दिएको आरोपमा उजुरी दिएका थिए। जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत् कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
त्यसपछि २०७५ चैतमा डीएसपी अंगुर जिसीले ९ लाख रुपैयाँ धरौटी बुझाइ मुद्दा लडिरहेका थिए। उनलाई यातना सम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दामा ४ लाख रुपैयाँ धरौटी माग भएको थियो।
तत्कालीन एसपी दिल्लीराज विष्ट २०७५ चैत ५ गतेमात्र अदालतमा उपस्थित भएका थिए। विष्टलाई प्रमाण नष्ट गरेकोमा साढे ४ लाख र यातना दिएकोमा ६ लाख गरी कूल साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलासले दिएको थियो।
अदालतले यी दुई आरोपमा इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का र डीएसपी ज्ञानबहादुर सेठीलाई जनही ९ लाख रुपैयाँ धरौटी माग गरेको थियो। त्यसैगरी प्रमाण नष्ट गरेको आरोपमा इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई ४ लाख, क्राइम सिन अफिसर सई हरसिंह धामीलाई ३ लाख ५० हजार, स्थायी प्रहरी पोस्ट सालघारीका इन्चार्ज सई रामसिंह धामीलाई ३ लाख, जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी माग गरिएको थियो।
तत्कालीन एसपी विष्ट र घटना भएको वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई प्रहरीले सेवाबाट हटाइसकेको छ। अरु सबै प्रहरी निलम्बनमा छन्।