काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले थप ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। यसअघि ३५ जनामा संक्रमण पुष्टि भइसकेको छ। आज थपिएका संक्रमतिसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै ४४ जनामा संक्रमण देखिएको छ।
‘कन्ट्याक्ट टे«सिङ गर्दै जादा थप ९ जनामा संक्रमण पुष्टि भएको छ,’ उनले भने,‘संक्रमित भएकाहरुको टे«सिङकको काम भइरहेको छ।’
नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन्।
संक्रमितहरुलाई उपचारका लागि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना गरिएको छ।
प्रहरी प्रधान कार्यालयमा नै धेरै प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ। सर्वसाधारण मानिसहरुलाई प्रहरी प्रधान कार्यालयमा आवतजावतमा कडाइ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रधान कार्यालयस्थित भान्सा, ब्यारेक मेस लगायत शिल गरिएको छ। प्रहरीका अनुसार प्रहरी प्रधान कार्यालयमा नै कसरी संक्रमण फैलियो अझै यकिन भइसकेको छैन।
त्यहाँ कार्यरत रहेका चारजना सुरक्षाकर्मीहरुको शुरुमा कोभिड–१९ सँग मिल्दोजुल्दा लक्षण देखापरेपछि उनीहरुको परिक्षण गरिएको थियो। उनीहरुमा संक्रमण पुष्टि भएपछि टे«सिङको आधारमा अन्यमा पनि संक्रमण पुष्टि भएको हो।