काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक भएपछि गठित विभाग खारेज गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार पार्टी कार्यालय सानेपामा बोलाएको भेलामा सहभागी नेताहरुले विभाग खारेज गरेर मात्र महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेका हुन्।
भेलाले बिहीबार सभापति शेरबहादुर देउवालाई विभाग खारेज गर्नका लागि निवेदन बुझाउने निर्णय गरेको छ।
‘तत्काल विभाग खारेज गर्न माग गर्दै सभापतिलाई निवेदन बुझाउने निर्णय भएको छ,’ भेलापछि सञ्चारकर्मीसँग महामन्त्री शशांक कोइरालाले भने, ‘पार्टी विधि र पद्धतिमा चल्नुपर्छ। महाधिवेशन कार्यतालिका निर्माण भइसकेपछि विभाग गठन गर्न मिल्दैन।’
भेलामा सहभागी नेताहरूले पार्टीमा लामो योगदान गरेका नेता पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलगायतमाथि कारबाही गरिएको विषयमा विरोध जनाएका थिए।
भेलापछि केन्द्रीय सदस्य चन्द्र भण्डारीले राप्रपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका सुनिल थापालाई सहमहामन्त्री दिने हो भने पार्टीले निर्णय गर्नुपर्ने बताए। कुनै व्यक्तिलाई जिम्मेवारी दिँदा खल्तीबाट नभई पार्टी कमिटीबाट निर्णय हुनुपर्ने उनको भनाइ थियो।
भेलामा महामन्त्री शशांक कोइराला, नेताहरु डा. शेखर कोइराला, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, डा.रामशरण महत, धनराज गुरुङलगायत सहभागी थिए।