कोरोना भाइरस परीक्षण तथा उपचारका लागि एक महिनालाई पुग्ने स्वास्थ्य सामग्री मौज्दात रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक महिनालाई पुग्ने स्वास्थ्य सामग्री रहेको र थप आवश्यक स्वास्थ्य सामग्री ल्याउने तयारीमा रहेको बताए।
त्यसैगरी कोरोना संक्रमितको उपचार गरेबापत अस्पताललाई अनुदान दिने आदेश २०७७ स्वीकृत भएको समेत उनले जानकारी दिए । उक्त आदेशअनुसार सरकारले शंकास्पद तथा संक्रमित व्यक्तिहरुको उपचारबापत स्वास्थ्यकर्मी तथा अस्पताललाई रकम उपलब्ध गराउनेछ ।
लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामीका लागि घरमा स्वास्थ्यकर्मीले निगरानी गर्दा लाग्ने खर्च प्रतिदिन प्रतिव्यक्ति रु. २०० को दरले दिइनेछ ।
लक्षण नभएका वा सामान्य लक्षण भएका आइसोलेसन केन्द्रमा भएका संक्रमितको लागि सम्बन्धित संस्थालाई रु. २ हजार, सामान्य लक्षण भएका वा ६० वर्षमाथिका जेष्ठ नागरिक, दिर्घरोगीको उपचारका लागि प्रतिदिन प्रतिव्यक्ति रु. ३ हजार ५०० रुपैयाँ सरकारले दिने भएको छ ।
त्यस्तै मध्यम जटिल उपचार गर्ने अस्पताललाई प्रतिदिन प्रतिव्यक्ति ७ हजार र जटिल प्रकृतिका बिरामी उपचार गर्ने अस्पतालका लागि प्रतिदिन प्रतिव्यक्ति १५ हजार दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना परीक्षणको दायरा बढाउन मन्त्रालय लागिपरेको उनले बताए ।