काठमाडौं– दार्चुलाका गुन्जी, कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई आवतजावतमा रोक लगाउन भारतले लेखेको पत्रको नेपाली पक्षले जवाफ फर्काएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार इमेलमार्फत धार्चुलाका उपजिल्ला अधिकारीलाई पत्र लेखेर जवाफ दिएको हो।
भारतीय पक्षले धार्चुलाबाट गुन्जी, कालापानी, लिम्पियाधुरामा आवतजावत बढेकाले रोक लगाउन भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेको थियो।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले गृह मन्त्रालयको निर्देशनपछि मंगलबार नै भारतलाई पत्र लेखेका हुन्। कुँवरले भने, ‘भारतको पत्र प्राप्त भएपछि त्यसबारे गृह मन्त्रालयलाई जानकारी गराएका थियौं। गृहले निर्देशनपछि भारतीय पक्षलाई पत्राचार गरिएको हो।’
भारतीय पक्षलाई लेखिएको पत्रमा गुन्जी, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र नेपालकै भूभाग रहकाले त्यहाँ नेपालीको आवतजावत हुनु स्वाभाविक भएको उल्लेख छ।
‘सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५ र त्यस चरणमा प्रकाशित नक्सा एवम् तथ्य प्रमाणका अनुसार कालीनदी र लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, कालापानी, लिपुलेकलगायतका क्षेत्र नेपालको भूभाग रहेको प्रस्टै छ,’ भारतलाई पठाइएको पत्रमा उल्लिखित विषयबारे सहायक प्रजिअ कुँवरले भने, ‘ती सबै भाग नेपालकै भएकाले त्यहाँ त्यहाँ नेपालीको आवतजावत हुनु स्वाभाविक हो। उनीहरुलाई त्यसमा कुनै बाधा पुर्याइनु हुँदैन।’
भारतले गत कात्तिकमा कालापानी, लिपुलेक, लिम्पयाधुरासहितको नेपाली भूभागसमेत समेटेर नयाँ नक्सा जारी गरेको थियो।
नेपालले अन्तर्राष्ट्रिय सीमासम्बन्धी कानुन उल्लंघन गरेर नेपाली भूमि मिचिएको भन्दै आपत्ति जनाएको थियो।
केही समयअघि भारतीय पक्षले सडक उद्घाटनसमेत गरेपछि नेपालले आपत्ति जनाएको थियो। नेपालले जेठ ७ गते भारतले अतिक्रमण गरेको भूभागसमेत समेटेर नयाँ नक्सा जारी गरेको थियो।
नेपालले कालापानी क्षेत्र नजिकै छाङ्रुमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना गरेको छ। नेपाली सेनाले पनि सडक निर्माण र सीमा अनुगमन गरिरहेको छ।
नेपालले नयाँ नक्सा जारी गर्नुका साथै सीमा क्षेत्रमा सुरक्षाकर्मीको पनि गस्ती बढाएपछि भारतले थप निगरानी गरिरहेको छ।
त्यसैका आधारमा पनि नेपालीको आवागमन बढेको भन्दै भारतले पत्राचार गरेको हुन सक्ने बुझिएको छ।
