कैलाली- वर्षासँगै आएको बाढी गाउँ पस्दा कैलालीका सयभन्दा बढी घर डुबानमा परेका छन्।
काडा, कान्द्रा र पथरैया नदीमा पानीको बहाव बढेसँगै जिल्लाको दक्षिणी पूर्वी क्षेत्रका बस्ती डुबानमा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय, कैलाली प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले अहिलेसम्म जिल्लाका १०९ घर डुबानमा परेको जानकारी दिए। उनका अनुसार काडा र पथरैया नदी गाउँ पसेपछि जोशीपुरमा ३३ घर डुबानमा परेका छन्। काडा नदी गाउँ पसेपछि २५ घर र पथरैया नदीको बाढीले आठ घर डुबानमा परेको उनले बताए।
यस्तै, काडा नदी र कान्द्रा नदीमा आएको बाढी गाउँ पसेपछि कैलालीको पूर्वी–दक्षिणी क्षेत्रमा पर्ने भजनी–त्रिशक्ति नगरपालिकाका ७६ घर डुबानमा परेका छन्। प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार काडा नदी गाउँमा पस्दा ६० घर र कान्द्रा नदीको बाढीले १६ घर डुबानमा परेका हुन्।

घरमा पानी पसेपछि अन्नपात र लत्ताकपडा नष्ट भएका छन्। स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।



कैलाली र कञ्चनपुरको धेरै ठाउँमा अहिले पनि वर्षा भइरहेको छ। लगातारको वर्षाले कैलालीको कान्द्रा, मोहना, खुटिया, घुरहा नदीमा ठूलो बाढी आउने खतरा बढेको बताइएको छ।
कर्णालीमा पानीको बहान बढ्दै, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
कैलालीको चिसापानीमा लगातार सतर्कता तहभन्दा बढी वर्षासँगै कर्णाली नदीको सतह बढिरहेको छ। बिहान ९ बजेसम्म कर्णाली नदीको सतह ९ दशमलब ८९ मिटर पुगेको छ। कर्णालीको सतह १० मिटर पुगे सर्तकता तह र १० दशमलब ८ मिटरलाई खतरा मानिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णालीमा लगातार सर्तकता तहभन्दा बढी वर्षा भइरहेको छ। महाशाखाका अनुसार टीकापुरको चुरियामा २४ घण्टामा २ सय ७१ मिलिमिटर वर्षा भएको छ भने चिसापानीमा २ सय ६० मिलिमिटर वर्षा भएको छ ।
महाशाखाका अनुसार एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा एक सय मिलिलिटर, १२ घण्टामा एक सय २० मिलिलिटर र २४ घण्टामा एक सय ४० मिलिलिटर वर्षालाइ सर्तकता मानिएको छ।
कैलाली प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय, कैलालीले तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको र बाढी पस्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली तयारी अवस्थामा राखिएको जनाएको छ।