काठमाडौं– राप्रपा त्यागेका सुनिलबहादुर थापाले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा भाग लिएर अगाडि बढ्न आफूहरू कांग्रेसमा प्रवेश गरेको बताएका छन्।
मंगलबार कांग्रेसमा प्रवेश गरेपछि पत्रकारलाई प्रतिक्रिया दिँदै थापाले गृहकार्य गरेर महाधिवेशनको तयारीमा लाग्ने बताएका हुन्। नेपाली कांग्रेसको चौधौं महाधिवेशन फागुनमा गर्ने कार्यतालिका छ।
थापाले आफू पदका लागि कांग्रेस प्रवेश नगरेको दाबी गरेका छन्। उनले भने, ‘अहिलेको पदको कुनै लोभ छैन, महाधिवेशनमा कसरत गरेर अगाडि बढ्नेछु।’
पहिले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा बसेका कारण आफ्नो क्षमताअनुसारको जिम्मेवारी पाउने थापाको भनाइ छ।
थापाले आफूसँगै आएका नेता र जिल्लाका नेताको व्यवस्थापन पार्टीसँग छलफलका आधारमा हुने जानकारी दिए। केही दिनअघि राप्रपा परित्याग गरेका थापासहित १४ नेता कांग्रेस प्रवेश गरेका हुन्। अन्य नेतालाई भने जिल्ला तहबाट पार्टी प्रवेश गराउने तयारी कांग्रेसको छ।