काठमाडौं– जवाफदेहिता निगरानी समितिले चितवनमा सुरक्षाकर्मीको कुटाइबाट भएको मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटाइबाट साउन १ गते राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङ गम्भीर घाइते भएका थिए।
उनको उपचारका क्रममा ७ गते मृत्यु भएको थियो। घटनामा अन्य ५ जना घाइते भएका थिए।
चेपाङ समुदायका ५ पुरुष र २ महिला निकुञ्ज क्षेत्र भित्र घुँगी टिप्न गएका बेला नेपाली सेनाका अधिकारीले नियन्त्रणमा लिई निर्मम यातना दिएको दाबी समितिको छ।
समितिले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायबाट भएका यस्ता गम्भीर घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारवाही गर्न जवाफदेहिता निगरानी समिति सरकारसमक्ष जोडदार माग गर्दछ।’
यसैगरी समितिले साउन ३ गते माडी नगरपालिकाको मध्यवर्ती वन क्षेत्रस्थित कुसुमखोलामा चेपाङ समुदायको घरमा आगो लगाइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘चेपाङ समुदायका सुकुम्बासीको घरमा चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले पूर्वजानकारी र वैकल्पिक व्यवस्थापन विना दुई घरमा आगजनी र आठवटा घरमा हात्ती लगाएर भत्काएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
समितिले नियमित फौजदारी न्याय प्रणाली अन्तर्गत घटनाको अनुसन्धान गरी दोषीउपर अभियोजन गर्न सरकारसमक्ष माग गरेको छ।
समितिले यी घटनाका सम्बन्धमा वन तथा भूसंरक्षण मन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा दिएको गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
चितवन घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नेमा समिति संयोजक चरण प्रसाईं, सहसंयोजक गोविन्द बन्दी, सदस्यहरू, मन्दिरा शर्मा, कपिल श्रेष्ठ, गौरीशंकरलाल दास र कनकमणि दीक्षित छन्।
विज्ञप्तिमा गोपाल सिवाकोटी, शोभाकर बुढाथोकी, सुमन अधिकारी, देवी सुनवार, वीरेन्द्र थपलिया, दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल, राजुप्रसाद चापागाईं छन्।
सावित्री श्रेष्ठ, जनक बहादुर राउत, इन्द्रप्रसाद अर्याल, महामुनिश्वर आचार्य, बाबुराम गिरी, राजन कुइँकेल, बिकास बस्नेत, अनिता थपलिया, भक्त विश्वकर्मा, पंकजकुमार कर्ण, बद्री भुसाल, रुकमनी महर्जन, रणधीर चौधरी, ओमप्रकाश सेन ठकुरीलगायतले पनि घटना छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।