प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये आधा किलोमात्र सुन भएको पुष्टि भएको छ। बाँकी साढे १४ किलो चाँदी रहेको प्रहरीले जनाएको छ।
कमलादीको कृष्ण पाउरोटी नजिक आकस्मिक चेकजाँचका क्रममा बा ६ च ५५१९ नम्बरको जिप नरोकेर भागेको थियो। त्यसपछि प्रहरीले पिछा गर्दा झोलामा राखेको वस्तु सडकमै फालिएको थियो।
महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले प्रहरीलाई अलमल्याउन पनि नक्कली सुन जस्तो देखिने वस्तु फालेको हुन सक्ने बताए।
'गाडीमा धेरै सुन हुन सक्छ, त्यसैले नक्कली सुन जस्तो देखिने वस्तु फालेको हुन सक्छ,' ज्ञवालीले भने। उनले कसैमाई झुक्याउन पनि चाँदीमा सुन जस्तो देखिने जलप लगाएको हुन सक्ने बताए।
बरामद भएको ३५ थान मध्ये ५०० ग्राम तौलको सुन र बाँकी साढे २ सय ग्राम तौलको २६ वटा बिस्कुट, एक किलो तौलको एउटा बिस्कुट छ। साथै दुई थान चाइनिज पेस्तोल पनि भेटिएको छ।