काठमाडौं- सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाईदिन्छु भन्दै पैसा लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मुगु खत्याड गाउँपालिका–८ घर भई भक्तपुर मध्यपुर थिमि नगरपालिका मगरगाँउ बस्ने २५ वर्षीय प्रेमराज पाण्डे छन्।
उनलाई महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–३ थानकोट खरीबोटबाट पक्राउ गरेको हो।
पाण्डेले लाइसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरूसँग रकम असुली गरेको प्रहरीले जनाएको छ।
पाण्डेले यसअघि काठमाडौं चन्द्रागिरी नगरपालिका–४ का मंगल श्रेष्ठ र शैसब श्रेष्ठबाट लाइसेन्स बनाईदिने भन्दै प्रतिव्यक्ति साढे १३ हजार रुपैयाँका दरले लिएको प्रहरीले जनाएको छ।
पाण्डेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।