काठमाडौं– जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार एसपीसहित स्याङ्जामा १८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो। संक्रमित मध्ये एक जना महिला कर्मचारी छन्।
जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले एसपीबाहेक संक्रमित सबैलाई पुतलीबजारस्थित करेनडाँडा र हेलुस्थित कालिका अस्पतालको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको बताए।
एसपीलाई भने स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निवासमै राखिने शर्माले जानकारी दिए। शर्माका अनुसार साउन ७ गते प्रहरीमा ज्वरो आउने र रुघा लाग्ने भएपछि साउन ८ गते स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो।
९८ जना प्रहरी र हिरासतमा रहेका चार जना गरी १०२ जनाको स्वाब परीक्षण गरिएकोमा ४० जनाको रिपोर्ट आउँदा २१ जनामा कोरोना पुष्टि भएको छ। तीन जना प्रहरीमा यसअघि नै कोरोना देखिएको थियो।
‘कोरोना भित्रभित्रै ब्यारेकमा सरिसकेको रहेछ,’ शर्माले भने, ‘खासै लक्षण नदेखिएपछि चेक गरिँदैनथ्यो । प्रहरीको हकमा भने रुघा र ज्वरो लक्षण देखिएकोले परीक्षण गरिएको हो।’
जिल्ला प्रहरी कार्यालय साउन ६ गतेबाट नै सिल गरिएको छ। संक्रमित एसपीले आफू साउन ६ गतेदेखि नै क्वाटरमै आइसोलेसनमा रहेको बताए।
यस्तै सोमबार मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ। अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।