काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ। पछिल्लो पटक बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ।
कोरोनाका लक्षणहरुसहित त्रिवि शिक्षण अस्पताल महारागंजमा भर्ना भर्ना गरिएका उनको उपचारका क्रममा मृत्यु भएको हो।
उनी निमोनिया, मस्तिष्क घात तथा मिर्गौलासम्बन्धी रोगबाट ग्रसित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
त्यस्तै पर्साको वीरगंज महानगरपालिका वडा नं. १० निवासी एक ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भारतीय नागरिक उनको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी मुटुका बिरामी थिए।
त्यस्तै धनुषामा पनि एक जनाको मृत्यु भएको छ। जिल्लाको सहिदनगर नगरपालिका वडा न. ८ निवासी ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
केही दिनअघि उनमा ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिएपछि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।
त्यहाँ निको नभएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटैमा मत्यु भएको हो।