बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम, समयमै सक्ने लक्ष्य

लकडाउनमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम, समयमै सक्ने लक्ष्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा न्यारोबडी जहाजमात्र अवतरण गर्न सक्नेछन् ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

पोखरा– राष्ट्रिय गौरवको परियोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम धमाधम चलिरहेको छ ।

चिनियाँ निर्माण कम्पनी सीएमसीईले ११ अगस्ट २०१७ बाट निर्माण कार्य सुरु गरेको विमानस्थल निर्माणको काम ६२ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

सन् २०२१ जुलाई १० मा विमानस्थल निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौताअनुरुप काम भइरहेको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । उनका अनुसार विमानस्थलमा हाल १४ वटा भवन बनिरहेका छन् । भवन फिनिसिङको काम बाँकी रहेको आयोजना प्रमुख मुनकर्मीले बताए ।

कोरोना महामारीका बेलासमेत सुरक्षाका उपाय अपनाउँदै काम भइरहेको छ । चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा बनिरहेको विमानस्थलको ट्याक्सी पार्क, ह्याङ्गर, राजमार्गदेखि टर्मिनल भवनसम्मको पहुँच मार्ग लगायतको काम सकिएको मुनकर्मीले बताए ।

कोरोना महामारीका कारण विमानस्थलको निर्माण कार्यमा समेत भने परेको छ ।

‘लकडाउनअघि घर गएका चिनियाँ कामदार आउन पाएनन्। मार्चमा १०७ जना कामदार भने ल्याइएको थियो। विमानस्थलको काम हुँदैगर्दा कोरोना भाइरसको त्रासका कारण नेपालमा विमानस्थल र नाकाहरु बन्द भए । यसले गर्दा आवश्यक सामान ल्याउन सकेनौं । थप कामदार समेत आउन सकेनन् । त्यसैले भनेजस्तो काम सुचारु हुन सकेन,’ उनले भने, ‘अहिले भारतमा लकडाउनको अवस्था केही सहज भएपछि नाकामा रोकिएको सामान आएको छ । काम पनि सुचारु भइरहेको छ । केरुङमा रोकिएको सामान समेत आएको खण्डमा विमानस्थलको काम समयमै सकिन्छ ।’

लकडाउन खुले पनि विमानस्थल निर्माणमा भने प्रभाव परेको उनले बताए । ‘चीनबाट कुनै पनि सामान पोखरा ल्याउँदा दुई महिना लाग्ने हुँदा समस्या भइरहेको छ । निर्माण व्यवसायीलाई कामदारको संख्यामा वृद्धि गर्न र सामानसमेत ल्याउने व्यवस्था मिलाउन आग्रह गरिएको छ,’ मुनकर्मीले जानकारी दिए ।

वर्षाका कारण अहिले भित्री काम भइरहेको जानकारी दिँदै मुनकर्मीले कामदारको संख्या र काम गर्ने समय बढाएर निर्धारित समयमै विमानस्थलको काम सक्ने योजना रहेको सुनाए।

पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा हाल सय जना नेपाली कामदारले काम गरिरहेका छन् भने २४४ चिनियाँ कामदार खटिएका छन् ।

आयोजना प्रमुख मुनकर्मीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा न्यारोबडी जहाजमात्र अवतरण गर्न सक्नेछन् । विमानस्थलमा १६० सिटदेखि १९० सिटसम्मका हवाईजहाज अवतरण गर्न सक्ने उनले बताए । एयरबस ३१९, एयरबस ३२०, बोइङ ७५७ लगायत जहाजहरु यो विमानस्थलमा अवतरण हुन सक्छन् ।

पोखरा विमानस्थल निर्माणका लागि ९७ प्रतिशत जग्गा प्राप्त भइसकेको मुनकर्मीले बताए । पहिले स्थानीयबाट जग्गा अधिकरणको समस्या भए पनि अहिले नभएको उनले जानकारी दिए ।

पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र स्थानीयको उपस्थितिमा पटकपटक छलफल गरेर समस्या टरेको उनले बताए । ६ महिनाभित्र अधिग्रहणको काम सकेर बाँकी रहेको जग्गामा समेत विमानस्थलको निर्माण कार्य सुचारु गर्ने उनको भनाइ छ ।

प्रकाशित: Jul 27, 2020| 12:50 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।