काठमाडौं- नेपालमा कोरोना भाइरसबाट हुने मृत्युदर ह्वात्तै बढेको छ। लक्षणसहितका संक्रमित देखिन थालेसँगै मृत्युदर पनि ह्वात्तै बढेको हो।
कोरोना संक्रमणबाट पछिल्लो पाँच दिनमा सात जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार दिनहुँ कम्तीमा एक र बढीमा २ जनाको मृत्यु भएको छ।
साउन ७ गते दुई जना संक्रमितको मृत्यु भएको थियो भने ८ गते एक, ९ गते एक, १० गते एक र ११ गते दुई जनाको मृत्यु भएको छ।
नेपालमा कोरोनाबाट पहिलो मृत्यु जेठ ३ गते भएको थियो। ६७ दिन (जेठ ३ देखि साउन ६ सम्म) मा ४० जनाको मृत्यु हुँदा पछिल्लो ५ दिनमा ७ जनाको ज्यान गएको हो।
आइतबार कोरोनाबाट ज्यान गुमाउनेमध्ये एक जना वीरगन्जमा व्यापार गर्दै आएका भारतीय हुन् भने अर्का धनुषा सहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुष छन्।
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले लक्षणसहितको संक्रमण देखिनु र मृत्युदर बढ्नुले नेपालमा कोरोनाको जोखिम थप बढेको बताए।
उनका अनुसार कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेकाले जुनसुकै बेला जोसुकैको मृत्यु हुने जोखिम बढेको छ। ‘अब पनि समुदायमा परीक्षण नगर्ने हो भने यसले भयावह रुप लिन सक्छ’, उनले भने।
नेपालमा कोरोनाबाट पहिलो मृत्यु जेठ ३ गते शनिबार काभ्रेको धुलिखेल अस्पतालमा सुत्केरी महिलाको भएको थियो। कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ।
१८ हजार ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरु अधिकांश नेपालमै बसोबास गर्दै आएका छन्।