काठमाडौं– कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न भारतले नेपालसँग आग्रह गरेको छ।
धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखी भारतीय भूमि गुंजी, कालापानी, लिम्पियाधुरासहितमा अवैध रुपमा नेपालीहरु समूह बनाएर प्रवेश गरेको वा प्रवेश गर्न चाहेको सूचना प्राप्त भएको भन्दै सो कार्य तत्काल रोक्न माग गरेको हो।
उक्त क्षेत्र भारतको भएको उल्लेख गर्दै धार्चुलाका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाद्वारा हस्ताक्षरित पत्रमा नेपालीलाई प्रवेश नदिन आग्रह गरिएको छ।
पत्रमा उल्लेख छ, ‘विशिष्ट सूत्रबाट थाहा भएको छ कि विभिन्न नेपाली गुट–समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा आउन चाहन्छन्। जसबाट मिडियाको ध्यान खिच्न सकियोस् र दुवै देशको प्रशासनलाई चिन्तित बनाउन सकियोस्।’
साथै भारतले यस प्रकारको कुनै सूचना भए वा प्राप्त भए उपलब्ध गराउन अनुरोधसमेत गरेको छ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले गुन्जी, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा अवैध प्रवेश रोक्न आग्रह गरिएको व्यहोराको पत्र प्राप्त भएको जानकारी दिए।
लामो समयदेखि भारतले अतिक्रमण गरिरहेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नेपालले नयाँ नक्सा जारी गरेको थियो।
