काठमाडौं- भोली (मंगलबार) बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठकको पूर्व सन्धामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरु आन्तरीक छलफलमा जुटेका छन्।
अध्यक्ष दाहालको निवास खुमलटारमा स्थायी कमिटीका सदस्यहरुबीच छलफल भइरहेको छ। खुमलटार स्रोतका अनुसार पार्टीमा देखिएको समस्या समाधानका बारेमा नेताहरुबीच छलफल जारी रहेको छ।
नेकपाको स्थायी कमिटी बैठक असार १० गतेदेखि शुरू भएको थियो। तर, असार १६ गतेदेखि भने स्थायी कमिटी बैठक अवरुद्व हुँदै आइरहेको छ।
यसअघि साउन ६ गते केहीसमयका लागि बसेको स्थायी कमिटीको बैठक भोली बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।
भोली बैठक बस्ने/नबस्ने अझै अन्योल देखिएको छ । दुई अध्यक्षबीच सहमति भइनसकेकाले बैठक अन्यौलमा रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
हालसम्म नेकपाको स्थायी कमिटी बैठक पटक–पटक गर्दै ८ पटक स्थगित भइसकेको छ।
स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओलीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद चुलिएको हो।
नेकपामा फुटको अवस्थासम्म आएको आकलंन हुन थालेको छ। यद्यपी नेताहरुले कुनैपनि हालतमा पार्टी विभाजन हुन नदिइने दाबी गर्दै आइरहेका छन्। तर, नेताहरुबीच सहमति भने अझै हुन सकेको छैन।
दाहाल–नेपाल समूहले ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने अडान राख्दै आएका छन्। भने ओलीले कुनैपनि पद आफूले नछाड्ने अडान कायमै राखेका छन्।