जनकपुरधाम- कोरोना भाइरसको संक्रमणका कारण धनुषामा एक पुरुषको मृत्यु भएको छ ।
धनुषा जिल्लाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण आइतबार साझ मृत्यु भएको हो ।
प्रादेशिक अस्पताल जनकपुरधामबाट धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएका विरामीको बाटोमै मृत्यु भएको कोरोना विशेष अस्पताल जनकपुरका प्रमुख डा जामुन सिंहले जानकारी दिए ।
करिब एक हप्ता देखि कोरोनाको लक्षण देखिएका पुरुषलाई शनिवार प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो । अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गरेकोमा आइतबार नै उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमित व्यक्ति कुनै प्रकारको दिर्घ रोगी नरहेको डा सिंहले बताए ।
संक्रमित जेनरल आइसीयुमा रहेपनि उनको मृत्यु भएपछि अस्पतालमा आकस्मिक बैठक डाकिएको डा सिंहले बताए ।
कोरोनाबाट धनुषामा मृत्यु भएको यो पहिलो घटना हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ । आइतबार नै वीरगञ्जमा भारतका एक व्यापारीको कोरोनाका कारण मृत्यु भएको थियो ।