काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक १८ हजारभन्दा बढी नमुनाहरु पीसीआर विधिबाट परीक्षण गर्न सकिने जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभर सञ्चालित प्रयोगशालाबाट अब दैनिक १८ हजार १६० जनाको पीसीआर परीक्षण गर्न सक्ने क्षमता रहेको बताए।
उनका अनुसार अहिलेसम्म देशभरका मेसिनको क्षमता ६ हजार ३६० रहेकोमा ११ वटा एक्स्ट्रयाक्सन मेशिन जडान गरेपछि दैनिक ८ हजार ८०० र अन्य नीजि तथा थपिएका अस्पतालहरुबाट ३ हजार गरी दैनिक १८ हजार परीक्षण गर्न सकिन्छ।
मन्त्रालयको तथ्यांकअनुसार साउन ६ गते रातिदेखि लकडाउन खुलेको पाँच दिनअगाडि र पाँच दिनपछाडिको तुलना गर्दा परीक्षण गरिएकामध्ये संक्रमित पाइएकाको प्रतिशतमा खास फरक आएको छैन।
साउन २ गतेदेखि ६ गतेसम्म गरिएका पीसीआर परीक्षणमा औसत ३.२५ प्रतिशत संक्रमण पुष्टि भएको थियो भने लकडाउन खुलेपछि साउन ७ गतेदेखि ११ गतेसम्मको सो औसत ३.३५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म ३ लाख ४२ हजार ४५७ नमुना पीसीआर विधिबाट परीक्षण गरिएका छन्।