काठमाडौं– नेपालमा आइतबारसम्म १३ हजार १२८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्।
यो कुल संक्रमितको ७०.५ प्रतिशत हो। पछिल्लो २४ घण्टामा ७५ जनाले कोरोना जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार अहिलेसम्म प्रदेश १ बाट ७५५, प्रदेश २ बाट दुई हजार ९४४ र बागमतीबाट ४६८ जना कोरोनामुक्त भएका छन्।
यसैगरी गण्डकीबाट एक हजार १५१, प्रदेश ५ बाट तीन हजार ९०३, कर्णालीबाट १ हजार ५८५ र सुदूरपश्चिमबाट २ हजार ३०२ जनाले कोरोना जितेका छन्।
अहिलेसम्म सक्रिय संक्रमितको संख्या पाँच हजार ४४० जना रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा पाँच सयभन्दा बढी संक्रमित छन् भने पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा कोरोना शून्य भएको छ।
संक्रमितको कुल संख्या १८ हजार ६१३ पुगेको छ भने ४५ जनाको निधन भएको छ।