काठमाडौं– गृह मन्त्रालयले मास्क प्रयोगमा कडाइ गर्न दोस्रोपटक निर्देशन दिएको छ। मास्क, स्यानिटाइजर, सामाजिक दुरी कायमलगायत स्वास्थ्य सुरक्षामा ध्यान नदिएर हिँडडुल गर्ने क्रम बढेको भन्दै गृहले दोस्रो पटक निर्देशन दिएको हो।
मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले प्रहरी प्रधान कार्यालयसहित देशैभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए।
‘सामाजिक दुरी कायम राख्ने, मास्कसहितका स्वास्थ्य सुरक्षा अपनाउन भने पनि त्यसो नगरेको गुनासो आइरहेको छ,’ उनले भने, ‘अब निर्देशन अटेर गर्नेलाई कारबाही गर्ने भनेर निर्देशन गएको छ।’
सामाजिक दुरी कायम नभएको, मास्क, स्यानिटाइजर प्रयोग नगरिएको र स्वास्थ्य सतर्कतासमेत नपनाइएकाले कोरोनाको जोखिम बढ्न सक्ने गृहको परिपत्रमा उल्लेख छ। यसअघि पनि गृहले कडाइ गर्न निर्देशन दिएको थियो। तर, लकडाउन खुलेलगत्तै सर्वसाधारण सुरक्षामा ध्यान नदिएर हिँडडुल गर्न थालेपछि गृहले दोस्रो पटक निर्देशन दिएर कडाइ गर्न भनेको हो।