स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा भित्रिने १० हजार जनाको कोरोना परीक्षण सुरू गरेकाे छ।
लकडाउन खुलेसँगै उपत्यका भित्रनेको संख्या बढ्दो क्रममा भएकाले उपत्यका बाहिरका समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन पीसीआर परीक्षण गर्न थालिएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए ।
अधिकारीका अनुसार काठमाडौं छिर्ने मुख्य दुई नाकामा स्वाब संकलन सुरु भइसकेको छ । नारायणगढ–मुग्लिन सडक खण्डबाट नागढुंगा हुँदै काठमाडौं छिर्ने र बर्दिवास–बनेपा हुँदै आउनेलाई साँगा नाकामा शनिबारदेखि स्वाब संकलन गरी कोरोना परीक्षण सुरु गरिएको डा. अधिकारीले जानकारी दिए ।
मन्त्रालयले समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पत्ता लगाउन ४५ हजार जनाको परीक्षण गरिरहेको छ भने यसअघि समुदायमा संक्रमणको अवस्था कस्तो थियो भनेर पत्ता लगाउन २१ हजार जनाको सेरो सर्वेक्षणको तयारीमा जुटेको छ ।
सरकारले कोरोना संक्रमितको संख्या र दर दुवै घटेको बताइरहँदा विज्ञहरुले भने असन्तुष्टि जनाउँदै आएका छन् । यसअघि उपत्यकामा समुदायस्तरमा गरिएको ५ हजारभन्दा बढी परीक्षणमा जम्मा ३ जनालाई मात्र कोरोना पुष्टि भएको थियो ।
ती ३ जनाको पनि ट्राभल हिस्ट्री भएकाले उपत्यकामा समुदायमा संक्रमण नभएको मन्त्रालयले निष्कर्ष निकालेको थियो । तर पछिल्लो साता केही जिल्लामा समुदायमा संक्रमणको अवस्था बढेकाले सो स्थान र काठमाडौं प्रवेश गर्ने नाकामा परीक्षण गर्न लागिएको हो ।
नाकामा परीक्षण गरेपछि देशका विभिन्न स्थानको अवस्था बुझ्न सकिने भएकाले कोरोना रोकथाम र नियन्त्रणमा रणनीति बनाउन सकिने सहप्रवक्ता डा. अधिकारीले बताए ।
मन्त्रालयका अनुसार अहिलेसम्म ३ लाख ३९ हजार १५७ नमुनाको पीसीआर परीक्षण गर्दा १८ हजार ४ सय ८३ जना संक्रमित भेटिएका छन् ।