श्रीमती हत्याको आरोप प्रमाणित भई साढे ८ वर्ष जेल बसेर छुटेका रन्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको आदेश पुनरवलोकन हुने भएको छ।
आज (आइतबार) सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले पुनरवलोकनका लागि अनुमति हुने आदेश जारी गरेको हाे।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले यसअघि भएको फैसलाको पुनरवलोकनका लागि अनुमति दिने पूर्ण इजलासले आदेश भएको जानकारी दिए। ‘आदेशको पूर्णपाठ भने आइसकेको छैन,’ उनले भने, ‘तर, अब यसअघि भएको फैसलाको भने पुनरवलोकनका लागि अनुमति दिने आदेश भएको छ।’
यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलाशले सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालाको मुद्दामा सजाय कम गर्ने फैसला गरेको थियो।
सो फैसलाविरुद्ध शुक्रवार सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता भएको हो। न्याय प्रशासन ऐनको दफा ११ (२)अनुसार पुनरावलोकनको निवेदन दर्ता भएको हो।