काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि पूर्वसहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशीले आफूले अनुशासन समितिमा पेस गरेको स्पष्टीकरण सार्वजनिक गरेका छन्।
उनले आइतबार बिहान फेसबुकमा उक्त स्पष्टीकरण सार्वजनिक गरेका हुन्। उनीमाथि २०७४ सालको निर्वाचनमा तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको बागी उम्मेदवार उठेको आरोप छ।
जोशीले उनले स्पष्टीकरणमा आफू पौडेलको बागी उम्मेदवार नभएको दाबी गरेका छन्। ‘प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको उमेदवारविरुद्ध बागी उम्मेदवार बनेको भनी मेराविरुद्ध उजुरी परेको रहेछ। प्रतिनिधिसभाको गत निर्वाचनमा म उम्मेदवार नै होइन’, उनले भनेका छन्।
उनले आफू जन्मंदै कांग्रेस भएको भन्दै स्पष्टीकरणमा लेखेका छन्, ‘रामचन्द्र पौडेलले केन्द्रीय संसदीय समितिमा निर्णयसमेत नगराई मेरो जिल्लाको टिकट मनै वितरण गर्दछु भनी खाली टिकट लिई आफ्नै नाम र आफूखुसी अरूको नाम लेखी टिकट बाँडेका रहेछन्। यसरी संसदीय समितिमा निर्णय नगराई लिएको व्यक्तिको टिकट र उम्मेदवारी आधिकारिक हुन सक्दैन भन्ने मेरो जिकिर छ।’
जोशीले बीपी कोइराला नेपाल आएपछि तनहुँँमा नेपाली कांग्रेस गठन गर्ने जिम्मेवारी आफैंले पाएको जनाएका छन्। उनले स्पष्टीकरणपत्रमा लेखेका छन्, ‘गोवर्धन शर्मालाई अध्यक्ष बनाई म सचिव रही १० जनाको जिल्ला कार्यसमिति गठन गरेको हुँ। त्यो समितिमा पनि रामचन्द्र पौडेल थिएनन्।’
यस्तो छ जोशीले पेस गरेको स्पष्टीकरण
श्रीमान् संयोजक ज्यू,
नेपाली कांग्रेस, केन्द्रीय अनुशासन समिति
सानेपा, ललितपुर।
विषयः स्पष्टीकरण पेस गरेको।
उपर्युक्त सम्बन्धमा त्यस कार्यालयको मिति २०७६ साल भाद्र १८ गतेको पत्र २०७६ साल पुसा १० मा प्राप्त भई व्यहोरा अवगत भयो। यस सम्बन्धमा मेरो निम्नबमोजिमको जिकिर प्रस्तुत गरेको छु।
१. प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध बागी बनेको भनी मेराविरुद्ध उजुरी परेको रहेछ। प्रतिनिधिसभाको गत निर्वाचनमा म उम्मेदवार नै होइन।
तनहुँँ क्षेत्र नं १ का करिब ८ हजार कार्यकर्ताले नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूलाई सम्बोधन गरी तनहुँ क्षेत्र नं १ को उम्मेदवार म गोविन्दराज जोशीलाई बनाउनुपर्दछ भनी केन्द्रीय कार्यालयमा दिएको निवेदनका सम्बन्धमा हामीलाई कुनै जानकारी नदिई रामचन्द्र पौडेलले केन्द्रीय संसदीय समितिमा निर्णयसमेत नगराई मेरो जिल्लाको टिकट मनै वितरण गर्दछु भनी खाली टिकट लिई आफ्नै नाम र आफूखुसी अरूको नाम लेखी टिकट बाँडेका रहेछन्।
यसरी संसदीय समितिमा निर्णय नगराई लिएको व्यक्तिको टिकट र उम्मेदवारी आधिकारिक हुन सक्दैन भन्ने मेरो जिकिर छ।
२. अत्यधिक कार्यकर्ताको समर्थनमा मनोनयन दर्ता गर्ने दिन ११ बजे मैले मनोनयन दर्ता गराएको र रामचन्द्र पौडेलले उक्त दिन ३ बजे मात्र मेरो विरुद्ध उम्मेदवारी दिएका हुन्।
मैले बागी उम्मेदवारी दिएको होइन। त्यसमा पनि स्वयं रामचन्द्र पौडेलले मेरो उम्मेदवारीवरुद्ध आफैंले उजुरी गरी जालझेल गरी मेरो उम्मेदवारी नै बदर गराएको र निर्वाचन आयोगले मेरो उम्मेदवारी बदर गरी धरौटीसमेत फिर्ता गरेको हुँदा ०७४ सालको निर्वाचनमा म प्रतिनिधिसभाको उम्मेदवारी नै हाइन।
म उम्मेदवारी हुन योग्यता नपुगेको अयोग्य भनी आफै उजुरी गर्ने र मेरो उम्मेदवारी खारेज गराउने अनि आफैं उम्मेदवारी हो उम्मेदवारी फिर्ता गरेन भन्ने उजुरी तर्कसङ्गत हुन सक्दैन। त्यसैले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा मैले बागी उम्मेदवारी दिएको र फिर्ता नगरेको भन्ने उजुरी बिल्कुलै झुट्टा हो।
म उम्मेदवारी बन्न योग्य नभएको मानिस उम्मेदवारी बन्न सक्ने कुरा भएन। उम्मेदवारीको लागि अयोग्य व्यक्ति उम्मेदवारी भयो र बदर भइसकेको नाम फिर्ता गरेन भन्ने उजुरी बिल्कुल झुट्टा हो भन्ने मेरो जिकिर छ।
३. जहाँसम्म आफ्नो उम्मेदवारी रद्द भएपछि आधिकारिक उम्मेदवारीका विरुद्ध मतदान गराइ पराजय गराउन भूमिका खेलेको भन्ने कुरा छ त्यो स्पस्ट भएन। कुन–कुन उम्मेदवारीलाई हराउन के के भूमिका खेलेको भन्ने कुरा नहुँदा यस्तो अस्पष्ट उजुरीको जवाफ दिन कठिन हुन्छ।
त्यसमा पनि २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी हुन अयोग्य व्यक्ति चुनाव प्रचारमा गएन भन्ने र चुनाव हरायो भन्ने कुरा मिल्दछ र? यो मिल्ने कुरा भएन।
म मेरो उम्मेदवारी बदर भएपछि मलाई कुनै पनि उम्मेदवारीले प्रचार गर्न जानुपर्छ पनि भनेनन्। म अयोग्य भएपछि तनहुँका सबै उम्मेदवारीहरू खुसी हुँदै हाँस्दै उल्लासमय वातावरणमा अब त चुनाव जितियो भन्दै चुनाव प्रचारमा हिँडेको मैले सुनेको हुँ।
म काठमाडौं आएर मतदानको दिनमा मात्र बुथमा गई मतदान गरी सोही दिन दमौली आई भोलिपल्ट काठमाडौं आएको हुँ। कसरी पराजय भयो? मलाई थाहा भएन।
रोजेको ठाउँमा खाली टिकटमा आफैंले नाम भरी टिकट लिँदा पनि चुनाव नजित्ने, आफू मनखुसी टिकट बाँडी चुनाव लड्दा पराजय नहुन पर्ने किन त्यस्तो भयो मलाई थाहा छैन।
म निर्वाचनको उम्मेदवारीका लागि नै अयोग्य व्यक्तिले त्यस्तो वातावरण सिर्जना ग¥यो भन्ने कुरा बिल्कुलै आधारहीन हो। त्यत्रा ठूला–ठूला राष्ट्रिय रूपमै नाम चलेका नेताहरू नेपालभरि जहाँबाट लडे पनि चुनाव जित्नुपर्ने नेताहरूलाई तनहुँका जनताले किन पत्याएनन्, पार्टीले त्यो कुरा पत्ता लगाएमा भविष्यका लागि राम्रो हुनेछ।
४. जहाँसम्म २०७५ माघ ८ गते विशेष जिल्ला अधिवेशन गरी विधानविपरीत २८ सदस्यीय समानान्तर समिति निर्माण गर्न नेतृत्वदायी भूमिका खेलको भन्ने उजुरी परेको छ।
त्यस सम्बन्धमा जिल्लाका नेपाली कांग्रेसका अत्यधिक कार्यकताको भावनाविपरीत स्थानीय निकायको निर्वाचनमै मनपर्दी टिकट वितरण गरी गुटबन्दी सृजना गरी पार्टीलाई गुटबन्दीको सिकार बनाई आफ्नो एकलौटी गुटलाई कसैसँग सल्लाह नगरी टिकट वितरण गरेको परिणाम संसदीय निर्वाचनमा पराजय भएको हो भन्ने मलाई लाग्छ।
यसमा सुधार गर्न पर्यो भनी जिल्लाका नेताकार्यकर्ताले बारम्बार जिल्ला पार्टी नेतृत्वलाई सचेत गराउँदा पनि पाटीमा अझै गुटबन्दी सिर्जना गर्ने व्यक्तिहरूबाट जिल्लाका कार्यकर्ताहरू कति थिचोमिचोमा होलान् अनुमान गर्न सकिन्छ।
पार्टी दिनप्रतिदिन अधोगतिमा जान थालेकाले जिल्ला कार्य समितिका सभापति वैकुण्ठनाथ न्यौपानेलाई नेपाली कांग्रेसको विधानको धारा ४२ बमोजिम अविश्वासको प्रस्ताव राख्ने निर्णय गरी जिल्ला अधिवेशन हुने दिन २०७५। १०।०८ को एक महिनाअघि २०७५ साल पुस ८ गते नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूलाई आवश्यक व्यवस्था गरिदिनुहुन र उक्त अधिवेशनको प्रमुख आतिथ्यता गर्न जिल्लाका ५० जना पार्टीका कार्यकर्ताहरूले भेटी आमन्त्रित गरेका थिए। सो भेटघाटमा म पनि उपस्थित थिएँ।
त्यहाँ भएको कुरा त्यतिखेरको भिडियोमा प्रसारित भएकै छ। आवश्यक भए म पेस गरौंला।
५. फेरि अहिले उहाले केन्द्रीय सभापति र केन्द्रीय समितिको निर्णयविरुद्ध जुन किसिमको भेला गरी रहनुभएको छ के तनहुँको भेला त्यो भन्दा पनि बढी थियो र? आफूले जे गरे पनि पार्टीको विधान अनुकूल हुने अरुले जे गर्दा पनि विधानविपरीत हन्छ र?
हामीले अहिले उहाँले र उहाँको नेतृत्वमा भए जति गरेका थिएनाैँ नि त।
६. हामीले त महामन्त्री शशांक कोइरालासमेतका अन्य पदाधिकारीहरूलाई पनि भेटी जिल्ला अधिवेशनमा आमन्त्रण गरेका र सो भेटधाटमा म पनि उपस्थित थिएँ। त्यहाँ भएको कुरा त्यतिखेरको भिडियोमा प्रसारित भएकै छ। आवश्यक भए म पेस गरौंला।
७. उक्त प्रतिनिधिमण्डलले कांग्रेस केन्द्रीय कार्यालयमा गई मुख्य सचिवलाई भेटी अविश्वासको प्रस्ताव पारित गर्ने जिल्ला अधिवेशनमा केन्द्रीय प्रतिनिधि खटाई पठाइदिने व्यवस्था गर्न अनुरोध गरेका थिए।
यदि समानान्तर समिति गठन गर्न खोजेको र गरेको भए उहाँहरूलाई आमन्त्रण किन गर्दथें र? अधिवेशनको दिनसम्म पनि कहींबाट अविश्वासको प्रस्ताव नराख्नुहोस् अथवा उक्त अधिवेशन गर्न मिल्दैन अथवा जिल्लामा समस्या देखिएपछि सो समस्या समाधान गर्न कहीं कतैबाट प्रयत्न भएको देखिएन। कहींबाट कुनै किसिमको केही जानकारी तथा सूचना प्राप्त भएन।
८. अधिवेशन तोकिएको दिनमा क्षेत्रीय प्रतिनिधिहरू ७५ प्रतिशतभन्दा बढी उपस्थित भएको अवस्थामा अधिवेशन टार्न सक्ने अवस्था थिएन।
७५ प्रतिशतभन्दा बढी क्षेत्रीय प्रतिनिधिहरूले सभापति वैकुण्ठनाथ न्यौपानेलाई अविश्वासको प्रस्ताव पारित गरी भेलाले नेपाली कांग्रेसको विधानबमोजिम निर्वाचन समिति गठन गरी विधानअनुसार पार्टी सभापति तथा अन्य पादाधिकारीको निर्वाचन गरी पदस्थापन गर्न जिल्ला पार्टी कार्यालय दमौलीमा जाँदा ५ सयभन्दा बढी सशस्त्र प्रहरी पार्टी कार्यालयमा तैनाथ रहेछन्।
हामी भिडन्त नगरी शान्तिपूर्ण रूपले बस्यौं। केन्द्रीय नेतृत्वले सबै कुरा छानबिन गर्नेछ र अविश्वासबाट हटाएको समितिलाई मान्यता दिने छैन भन्ने विश्वासमा थियौं।
९. यतिका अवधिसम्म पनि केन्द्रबाट समस्या समाधान गर्न कुनै पहल भएन। पार्टीभित्र मत–मतान्तर हुन्छ। सुनुवाइविना निर्णय नहुनु पर्ने हो। हामीले समानान्तर समिति गठन गरेको होइन।
अविश्वासको प्रस्ताव पारित गरी वैधानिक किसिमबाट गठन भएको हाम्रो जिल्ला समिति हो। केन्द्रले हामीलाई मान्यता दिनुपर्दछ भन्ने हो। प्रश्न वैधानिकताको थियो। हाम्रा कुरै सुनिएन। एकाएक केन्द्रीय समितिको बैठकले पुरानो समितिलाई वैधानिक समिति हो भनी मान्यता दिएको समाचार सुन्यौं।
यद्यपि सो विषयमा अहिलेसम्म पनि हामीलाई आधिकारिक जानकारी दिइएको छैन। पार्टी केन्द्रीय समितिको उक्त निर्णयपछि हामीले त्यो विषयलाई छोडिदियौं। केन्द्रीय समितिको निर्णयलाई हामीले स्वीकार गर्याैँ। किनभने हाम्रो विवाद केन्द्रीय समितिसँग थिएन।
१०. नेपाली कांग्रेसका प्रत्येक क्रियाकलापमा हामी सक्रिय छौं। हामीले पार्टीको विधानअनुसार अविश्वासको प्रस्ताव राख्दा पनि हामी ७५ प्रतिशत क्षेत्रीय प्रतिनिधिहरूको सुनुवाइ हुनुपर्ने हो भन्ने हाम्रो मान्यता हो। नभएको समानान्तर समिति गठन गर्यो भन्ने आरोप बिलकुल झुट्टा हो।
११. नेपाली कांग्रेसले नेपालको संविधान र बहाल रहेको कानुन मान्दछ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ। एउटै व्यक्तिलाई एउटै विषयमा एकै ठाउँमा एकपटक उजुरी दिएपछि त्यो विषयमा कारबाही भएन।
यो उजुरीबाट कारबाही गरी पाऊँ भनी पटक–पटक उजुरी दिन र त्यसरी दिएको उजुरीमा पटक–पटक कारबाही गर्न मिल्दैन भन्ने सर्वमान्य कानुनी सिद्धान्त हो।
अब विपक्षीले मलाई पहिले बागी उम्मेदवारी भयो भनी उजुरी दिई प्रतिनिधिसभाको मेरो उम्मेदवारी रद्द गराई एकपटक सजायको भागी गराएको र फेरि त्यही विषयमा महासमितिको बैठकमा मलाई उपस्थित हुन मिल्दैन भनी रामचन्द्र पौडेलले अडान लिएपछि तपाईं महासमितिको बैठकमा उपस्थित हुँदा रामचन्द्र पौडेलले बैठक हुन नदिने भयो तपाईं बैठकमा नआइदिनुहोस् म पछि पाँच–सात दिनमा सबै कुरा मिलाउँछु भनी केन्द्रीय सभापतिज्यूले भनेपछि म महासमितिको बैठकमा गइनँ।
मलाई हुँदै नभएको उम्मेदवारी हो भनी मेरो उम्मेदवारी पनि रद्द गराउने, पार्टीको महासमितिको बैठकमा उपस्थित हुन नदिएपछि मलाई पुनः गठन नै नभएको समानान्तर समिति गठन भएको भनी समानान्तर समिति गठन गर्न नेतृत्वदायी भूमिका खेलेको भनी एकपटक उजुरी दिई त्यो विषयमा मलाई कारबाही गरिसकेपछि त्यो त मिलेनछ भनी पुनः विभिन्न विषय समावेश गरेको, तीनपटकको तीनवटा उजुरीबाट मलाई कारबाही गर्न मिल्दैन भन्ने मेरो जिकिर छ।
१२. म यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु। म जन्मंदै कांग्रेस हुँ। मेरो रगतमा कांग्रेस छ। मेरो पिता पद्मराज जोशी २०१८ सालमा कांग्रेसको नाममा लमजुङ कुन्छाथाना हुँदै पोखरा जेलमा प्रजातन्त्रका लागि लडिरहँदा रामचन्द्र पौडेल पोखरा संस्कृत पाठशालाबाट वामपन्थी विद्यार्थीहरूको प्रतिनिधि बनी काठमाडौंकाे विद्यार्थी सम्मेलनमा आएको कुरा श्रीभद्र शर्माको १३ औं शोकसभामा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा स्वयं रामचन्द्र पौडेलले व्यक्त गरेका हुन्। त्यसको रेकर्ड पार्टी कार्यालयमा छँदै छ होला।
वामपन्थीको त्यो सम्मेलनले के निर्णय गर्यो होला सहजै अनुमान गर्न सकिन्छ। त्यसैले तनहुँमा विवाद समानान्तर समितिको होइन विवाद ब्याइते कांग्रेस र ल्याइते कांग्रेसको बीचको हो।
तनहुँ जिल्लाको हाम्रो झगडा सक्कली र नक्कली कांग्रेसको हो। बीपी कोइरालाको सशस्त्र संघर्षको बेला तनहुँमा रामचन्द्र पौडेलको कुनै भूमिका थिएन। हतियार कहाँ थिए, कोसँग थिए?
सशस्त्र क्रान्तिको के तयारी थियो अहिले पनि उनलाई सोध्दा हुन्छ उनलाई थाहा छैन। बीपी कोइराला नेपाल आएपछि तनहुँँमा नेपाली कांग्रेस गठन गर्ने जिम्मेवारी मैले नै लिएको थिएँ। मैले नै बूढो मानिस, योगदान पनि भएका कारण गोवर्धन शर्मालाई अध्यक्ष बनाई म सचिव रही १० जनाको जिल्ला कार्यसमिति गठन गरेको हुँ। त्यो समितिमा पनि रामचन्द्र पौडेल थिएनन्।
२०३५ सालमा गोरखपुरमा गिरिजाप्रसाद कोइरालाले बोलाई यिनलाई पनि जिल्ला कार्य समितिको सदस्य बनाउन भनेपछि उनी जिल्ला कार्य समितिको सदस्य बनेका हुन्। म केन्द्रीय समितिको सहमहामन्त्री हुँदा उनी केन्द्रीय सदस्य मात्र थिए।
मेरो समग्र परिवार कांग्रेसको नाममा होमिएको हो। पिता पद्मराज जोशी २०१८ सालमा जेल पर्नुभएको हो। मेरो छोरा दीपकराज जोशी २०३८ सालमा नेपाल विद्यार्थी संघ तनहुँमा जिल्ला कार्य समितिको सदस्य हुँदा प्रहरी हिरासतमा परेको र ०४६ सालको जनआन्दोलनमा पनि दमौलीमा हिरासत रहेको थियो।
कान्छो छोरा दिनेशराज जोशी पनि ०४६ सालको जनआन्दोलनमा पहिला काठमाडौं र पछि तनहुँँमा हिरासतमा रहेका थियो। छोरी रमा जोशी ०४२सालको सत्याग्रहमा दमौलीमा गिरफ्तार भएकी थिइन्। मेरी श्रीमती हिमकुमारी जोशीले लामो समयदेखि दमौलीमा पार्टीका कार्यकर्ताहरूलाई निरन्तर सहयोगीको भूमिका निर्वाह गरेकी थिइन्।
रामचन्द्र पौडेल दमौलीमा आउँदा झोला बिसाएर मोही, मकै र चिया खाने मेरो घर थियो। अहिले उनी अर्बपति भए। त्यसो भन्दा उनलाई होच्याएको भनी अपमान होला। यथार्थ कुरा त्यही हो।
उनी मात्र होइन, तनहुँँमा हाम्रा नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, सीके प्रसाई आदि सबै नेता–कार्यकर्ताहरू जाँदा पनि बस्ने घर मेरै थियो।
बीपी कोइराला तनहुँँ जाँदा मेरो भूमिकाको बारेमा मैले भनिरहन नपर्ला त्यही कारण त्यसलगत्तै म पोखरा जेलमा बस्नुपर्यो। २०३७ साल वैशाख १ गते राजनैतिक दलका नेताहरूलाई आममाफी दिँदा म जेलबाट छुटें।
पञ्चायतका कठिन दिनमा कांग्रेसका नेताहरूलाई बास दिने कुरा सहज थिएन। त्यसकारण म दावाका साथ भन्दछु तनहुँमा नेपाली कांग्रेसको संगठन निर्माणमा रामचन्द्र पौडेलको भन्दा मेरो योगदान बढी छ।
त्यसकारण राजनीतिको सबै मर्यादा तोडेर ७० को चुनावमा पनि तनहूँँको टिकट आफैं बाँड्छु भनी रामचन्द्र पौडेलले तनहुँँको क्षेत्र नं. १ को टिकट बिक्री गरेकै हुन्। स्थानीय निकाय निर्वाचनमा पनि एकलौटी गरेकै हुन्। तनहुँ कांग्रेसको निर्माणमा धेरै मानिसको पसिना बगेको छ।
कसैले एकलौटी गर्न खोज्दा त्यसको धेरै ठूलो मूल्य चुकाउनुपर्दछ। यसपटकको संघीय संसदको निर्वाचनमा पनि खाली टिकट लिएर मनपरि गरेको परिणाम हो यो पराजय।
तनहुँँ जिल्लामा कार्यक्रम राखी महामन्त्री शशांक कोइराला तनहुँँ जान खोज्दा मेरो जिल्लामा किन जान पर्याे भनी महामन्त्रीलाई प्रवेश निषेध गर्ने, केन्द्रीय सदस्य शेखर कोइराला जाँदा कार्यक्रम सकभर हुन नदिने केन्द्रीय पूर्वमहामन्त्री कुलबहादुर गुरूङ र तारानाथ रानाभाट जाँदा वक्तव्य निकाली कार्यक्रम बहिष्कार गर्न निर्देशन दिने यो हैकमले अब कांग्रेस पार्टी चल्दैन।
केन्द्रीय नेताहरूको त यो हाल छ भने तनहूँँका कार्यकर्ताको अवस्था कस्तो होला। यो विषयमा सम्बन्धित नेताहरूलाई बुझ्दा यथार्थ कुरा अवगत हुनेछ।
१३ .२०४८ सालको निर्वाचनमा मेरो नाम तनहूँँको क्षेत्र नं. २ मा सिफारिस भएकोमा मलाई हराउन क्षेत्र नं. ३ मा पठाउन भूमिका खेलेको, ०५१ को निर्वाचनमा आफू क्षेत्र नं. १ बाट निर्वाचन हार्ने भएपछि मलाई जबरजस्त क्षेत्र नं. १ मा पठाइ आफू क्षेत्र नं. २ मा लडेको, ०६४ को निर्वाचनमा माओवादी उम्मेदवारी सुरेश आलेसँग सम्झौता गरी बागी उम्मेदवारी उठाई क्षेत्र नं. १ मा माओवादी र क्षेत्र नं. २ मा कांग्रेसलाई जिताउने सहमति डा. बाबुराम भट्टराईको मध्यस्थतामा भएको हो।
मलाई हराएको मात्र होइन, चुनावको दर्भियानमा बन्दीपुरको भुमर्सेमा म लगायत कांग्रेसका मेरो प्रचारमा हिँडेका कार्यकर्तालाई मार्न माओवादीसँग मिलेमतो गरी आक्रमण गर्न लाएको र मेरो पीएसओले ४ फाएर गोली प्रहार गरेपछि मात्र हामी ज्यान जोगाउन सफल भएका थियौं।
यतिमात्र होइन, माओवादी जनयुद्धका बेला तनहुँँमा मारिने र विस्थाापित हुने अधिकांश मसँग नजिक भएका साथीहरू थिए। त्यस्तो किनभयो त्यो सबै कुरा हामीले आफ्नो पैतालाले कुल्चेर राखेका छौं। यस्तो आपराधिक मानसिकताबाट पीडित हामी तनहुँँका कार्यकर्ता हाैँ।
१४. तनहुँँ जनजातिको बाहुल्य भएको जिल्ला हो। संघीय र प्रदेशसभाको ६ सिटमध्ये ६ जना नै बाह्मण र त्यसमा तीन जना पौडेललाई टिकट दिएपछि चुनाव जितिन्छ ? त्यसमा पनि रामचन्द्र पौडेल तनहुँँमा जनजाति विरोधी मानिन्छन्।
जनजातिका मानिस बिस्तारै कांग्रेसबाट तनहुँँमा पलायन हुँदै छन्। यमबहादुर आले तनहुँँको दक्षिणी भेगमा मगरहरूलाई कांग्रेसमा ल्याउने प्रमुख व्यक्ति हुन्।
तनहुँँको नेपाली कांग्रेसको संगठन निर्माणमा उनको अहं भूमिका छ। आज उनी कांग्रेसमा छैनन्। उनको भाषणको एक अंश पेन ड्राइभ पनि यसैसाथ पेस गरेको छु यो एउटा उदाहरण मात्र हो। आज तनहुँँ कांग्रेसका धेरै कार्यकर्ताहरू यिनै कारणले डिप्रेसनमा छन्।
उर्मिला थापा पूर्व सांसद हाल महाधिवेशन प्रतिनिधि आज बोली बन्द भएर उपचार गराइरहेकी छन्। जनजाति भनेपछि देख्नै नसक्ने हुँदा उनलाई भेट्नसम्म नजाने रामचन्द्र पौडेललाई तनहुँँका जनताले के भन्लान् के गर्लान्?
१५. यसै सन्दर्भमा गत २०७५ माघ ८ गतेको अधिवेशनको सन्दर्भमा हामीहरू आफ्ना पिरमर्काहरू पोख्न सभापतिज्यूसमक्ष जाँदा सभापतिज्यूले रामचन्द्र पौडेलले तनहुँँको टिकट म बाँड्छु भनेर खाली टिकट लगेको हो भन्नु हँदा हामी त्यहाँ उपस्थित तनहुँँका कार्यकर्ता अत्यन्त मर्माहित भएका छाैँ तनहुँको समस्या राजनीतिक समस्या हो। कानुनी बाटोबाट समाधान निस्कँदैन।
अझै पनि तनहुँँका कार्यकर्ताहरूले न्याय नपाउने हो भने त्रेता युगका दशरथका छोरा रामचन्द्रको यो कलियुगको अवतार हो।
रामचन्द्रले जे गरे पनि केन्द्रीय नेतृत्वले केही गर्न सक्दैन भनी तनहुँको जिम्मा जनजातिविरोधी आपराधिक मानसिकता भएका रामचन्द्र पौडेलको जिम्मा लगाउने हो भने म र तनहुँका मसमेतका कार्यकर्ताका बारेमा जे निर्णय गर्दा पनि हामीहरूको कुनै गुनासो रहेने छैन। हाम्रो मन्जुरी छ।
१६. यो विषय अहिले अनुशासन समितिको विचाराधीन भएको हुँदा मैले जानकारीका लागि पार्टी पदाधिकारीबाहेक अरू कसैलाई पनि दिएको छैन। सार्वजनिक गर्न आवश्यक भई सार्वजनिक भएमा अन्यथा नलिनु हुन समेत अनुरोध गर्दछु।
१७. मेरा उल्लिखित भनाइहरूलाई गम्भीरतापूर्वक ग्रहण गर्नुहुन अनुरोध गर्दछु।
गोविन्दराज जोशी पूर्वसहमहामन्त्री महासमिति सदस्य, तनहुँ क्षेत्र नं. १