काठमाडौं- प्रहरीले काठमाडौंमा सवारी साधन चोरी गर्दै हिड्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ।
झापाका ४८ वर्षीय शोवित कार्की कार, स्कुटी र मोटरसाइकलका ४२ वटा नक्कली चाबीसहित आइतबार विहान नयाँ बानेश्वरबाट पक्राउ परेका हुन्।
पछिल्लो समय नयाँ बानेश्वरको आन्तारिक राजश्व कार्यालय अगाडि एक स्कुटीको डिकीबाट पैसा चोरी भएको उजुरी परेपछि सीसीटीभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी नयाँ बानेश्वरका प्रमुख डीएसपी दक्ष बस्नेतले जानकारी दिए।
‘प्रहरीको पहिलेदेखि खोजीको सूचीमा थिए उनी। ७ गते एक स्कुटीको डिक्कीबाट पैसा चोरी भएपछि खोजी गर्दा उनी नै पक्राउ परे,’ बस्नेतले भने, ‘कार्की चोरीको मास्टरमाइन्ड नै रहेछन्।’
बस्नेतका अनुसार साउन ७ गते अन्वेषण चन्दले सानिमा बैंकबाट एक लाख रुपैयाँ निकालेर स्कुटीको डिक्कीमा राखे र उनी आन्तरिक राजस्व कार्यालयमा गए। त्यहाँबाट काम सकाएर कार्यालय गएका चन्दले स्कुटरको डिकी खोलेर पैसा झिक्न खोज्दा पैसा थिएन।
कुनै तोडफोड नभएको स्कुटरको डिकी सकुशल नै थियो। चन्दले प्रहरीमा गएर जाहेरी दिए। अन्वेषण नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्दका छोरा हुन्।
डिकीबाट पैसा चोरी भएको निस्कर्षमा पुगेको प्रहरीले अनुसन्धान थाल्यो र चोरीमा संलग्न कार्कीलाई पक्रन सफल भयो।
कार्कीको साथबाट प्रहरीले कार, स्कुटी र मोटरसाइकलका ४२ वटा मास्टर चाबी समेत बरामद गरेको छ।
कार्कीले नक्कली चाबीबाट गाडी तथा स्कुटरमा भएको पैसा तथा धनमाल चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
‘बैंकमा गएर फलो गर्ने र मौका मिलेपछि नक्कली चाबी भिडाएर सवारी साधनमा रहेको धनमाल चोर्ने गर्दो रहेछ’ बस्नेतले भने, ‘थुप्रै चोरी गरेको आशंकामा अनुसन्धान थालेका छौँ।’
थुप्रै चोरीका घट्नाको सिसीटीभी फुटेज हेर्दा त्यसमा कार्कीको संलग्नता देखिएको बस्नेतले बताए।
कार्की यसअघि कारागारसमेत पुगिसकेको बुझिए पनि उनीबारे विस्तृत अनुुुन्धान भैरहेको बस्नेतले जानकारी दिए।