वीरगञ्ज- कोरोना भाइरसको संकमणबाट पार्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ।
वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा डेरागरी बस्ने भारतीय नागरिक ६५ वर्षिय श्यामसुन्दर बगडियाको मृत्यु भएको हो।
मुटुको बाईपास सर्जरी गराएका र मधुमेहका समेत विरामी रहेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो।
ती व्यक्तिमा आरडीटी पोजिटिभ देखिएको र लक्षणहरु सबै कोरोनासँग मिलेको चिकित्सकले बताएका छन्। उनको पीसीआर परीक्षण रिपोर्ट भने अझै आइपुगेको छैन।
उनलाई खोकी लागेको, श्वासप्रश्वासमा समस्या भएको, ज्वरो आएको र छट्पटी हुने लगायतका लक्षण देखिएको र भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
"कोरोनाका सबै लक्षण देखिएपछि थप उपचारका लागि गण्डक स्थित नारायणी अस्थाई कोभिड अस्पतालमा रेफर गरेका थियौं। उपचारकै क्रममा शनिवार राति मृत्यु भए छ," अस्पताल स्रोतले भन्यो।
मृतक आदर्शनगरको रूंगटा मार्केटमा कस्मेटिक र माला पसलका सञ्चालक हुन्। अहिले उनको कन्ट्याक्ट ट्रेसिङ भइरहेको नारायणी अस्पतालले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ ।
* सच्याइएको