चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी त्यसको तयारीमा जुटेका छन् ।
आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार साइकलयात्रामा निस्किएका छन् । सौराहाबाट शुरु भएको साइकलयात्रा कसरा पुगेर फर्किएको छ । यात्रामा १७ सहभागी थिए ।
सङ्घका अध्यक्ष दीपक भट्टराईले कोरोना भाइरसका कारण शिथिल बनेको पर्यटक क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उनले भने, “अब हामी सौराहा खुला गर्दैछौँ भन्ने सन्देश दिन थालेका छौँ, त्यसका लागि तयारी पनि गरिरहेका छौँ ।”
उनले व्यवसायी खुशी हुने अवस्था नरहे पनि होटल खोल्नुको विकल्प नभएको बताए । उनले होटल सञ्चालनका लागि सरसफाइ गर्न थालिएको भन्दै आवश्यक सावधानीका उपायहरु अपनाइने जानकारी दिए।
सौराहामा ११० होटल सञ्चालनमा छन् । चार महिनादेखि सबै ठप्प छन् ।