काठमाडौं- पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गाेविन्दराज जाेशी पार्टीबाट निष्कासित भएका छन्।
कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबारको बैठकले पूर्वगृहमन्त्री जोशीसहित तीनजनालाई अनुशासन उल्लंघन गरेको भन्दै निष्कासन गरेको हो।
पार्टीबाट निष्कासित हुनेमा पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुष्करनाथ ओझा र डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर बिष्ट छन्।
जोशीमाथि तनहुँमा पार्टीको उम्मेदवारलाई अन्तरघात गरेको आरोप छ। वरिष्ठ नेता रामचन्द्र पौडेल साही जिल्लाबाट संसदीय चुनावमा पराजित भएका थिए। पौडेल पराजित हुनुमा जोशीको हात रहेको आरोप लाग्दै आएको थियो।
पटकपटक मन्त्री भएका जोशीविरुद्ध अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन छ। जोशी र ओझालाई पाँच वर्षका लागि र बिष्टलाई तीन वर्षका लागि पार्टीबाट निष्कासन गरिएको अनुशासन समितिका संयोजक भीष्मराज आदेम्बेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।