बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुनिल थापासहित राप्रपाका ३१ नेता कांग्रेस प्रवेश गर्दै

सुनिल थापासहित राप्रपाका ३१ नेता कांग्रेस प्रवेश गर्दै

कांग्रेस प्रवेशका लागि लामो समयदेखि जारी गृहकार्य टुंगोमा पुगेपछि राप्रपा उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य सुनिलबहादुर थापासहितका ३१ नेताले शनिबार राप्रपा परित्यागको घोषणा गरेका छन्।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

काठमाडौं- राप्रपाका विभिन्न ३१ जना नेता नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्।

कांग्रेस प्रवेशका लागि लामो समयदेखि जारी गृहकार्य टुंगोमा पुगेपछि राप्रपा उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य सुनिलबहादुर थापासहितका ३१ नेताले शनिबार राप्रपा परित्यागको घोषणा गरेका छन्।

राजीनामा दिएका उच्चस्तरीय कार्यसम्पादन समितिका एक सदस्यले नेपाल समयसँग भने, 'कांग्रेस प्रवेशका लागि लामो समयदेखिको पहल करिबकरिब टुंगोमा पुगेको छ। त्यसैले राप्रपाबाट अलग भएका छौं।' 

उनका अनुसार राप्रपा छाडेर गएका नेताहरुलाई कांग्रेसमा कुन तहको जिम्मेवारी दिने भन्नेमा कांग्रेस नेतृत्वसँग कुरा मिलिसकेको छ। उनले भने, 'केही दिनभित्र औपचारिक रुपमा हामी कांग्रेसमा प्रवेश गर्नेछौं।' 

वर्तमान राप्रपा नेतृत्वले संस्थापकहरुले देखाएको सपना, परिवर्तनप्रतिको पार्टी प्रतिबद्धता र जनमतविपरीत गएको भन्दै असन्तुष्टि जनाएका छन्।

संस्थापक नेता सूर्यबहादुर थापाको निधनपछि पार्टीले सबल नेतृत्व गुमाएको, सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेको, पार्टी दिशाहीन हुँदै गएको आरोप राजीनामापत्रमा लगाइएको छ। राप्रपा परित्याग गर्ने सुनिलबहादुर थापा सूर्यबहादुर थापाका छोरा हुन्।

राजीनामापत्रमा उनीहरुले भनेका छन्, 'स्वार्थ र परिस्थिति अनुकूल विचार, सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त मात्र भएको छैन, संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ।' 

यस्तै उनीहरुले नेतृत्वको द्वैध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको उल्लेख गरेका छन्।

राप्रपाको वर्तमान नेतृत्वले समावेशितालाई पूर्ण बेवास्ता गरेको, मधेसी समुदायलाई उपेक्षा गरिएको, लामो समयदेखि पार्टीमा योगदान पुर्याएका नेताहरुलाई अलग गरिएको जस्ता आरोप राजीनामापत्रमा लगाइएको छ।

राजीनामापत्रमा लेखिएको छ, 'उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने गरी हामी आजका मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गर्दर्छौं।'

राजीनामा दिनेमा उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरुमा सुनिलबहादुर थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, केन्द्रीय सदस्य पदमबहादुर बस्नेत, राप्रपाका प्रवक्ता किरण गिरी छन्।

यस्तै राप्रपाबाट अलग हुने अन्य नेतामा केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ, चतुरमान विश्वकर्मा र रामपदारथ शाह छन्।

संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठ, पूर्वकेन्द्रीय सदस्यहरु वीरेन्द्रलाल कर्ण र नारायण राउतले पनि राजीनामामा हस्ताक्षर गरेका छन्। राप्रपाबाट अलग हुने अन्य नेताहरुमा इन्द्रबहादुर तामाङ, राजकुमार भट्टराईलगायत छन्।

प्रकाशित: Jul 25, 2020| 21:36 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।