धनगढी- सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार २०९ पुगेको छ ।
धनगढी प्रयोगशालामा भएको परीक्षणमा एक जना, डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा २० जना, सुर्खेत प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा दुई जना र पाटन अस्पतालमा भएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १७ वर्षीय युवक, डडेलधुरा प्रयोगशालामा भएको परीक्षणमा डडेलधुराका चार, डोटीका १३ र बैतडीका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाटन अस्पतालमा भएको परीक्षणमा अछामका एक जनामा र सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा अछामका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अहिलेसम्म कैलालीका ९९३, अछामका ६४८, डोटीका ६५७, बाजुराका ६१६, कञ्चनपुरका ५१४, डडेल्धुराका ३०३, बैतडीका २७९, बझाङका १७९ र दार्चुलाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म अछामका ५४०, डोटीका ५३५, कञ्चनपुरका ४९८, बैतडीका २९९ र डडेल्धुराका २६७, कैलालीका १३८, बझाङका ८७, दार्चुलाका १३ र बाजुराका दुई जना संक्रमित डिस्चार्ज गरिएका छन्।
सुदूरपश्चिममा ५६ संक्रमितको विभिन्न अस्पतालमा तथा १९ सयभन्दा बढीको घर र स्थानीय तहका क्वारेन्टिनमा उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २३, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पतालमा तीन र डोटी अस्पतालमा दुई जना गरि ५६ जनाको उपचार भइरहेको छ।
प्रदेश सरकारले कोरोना अस्पताल तोकेको सेती प्रादेशिक अस्पतालको आइसोलेसन भने पाँच दिनदेखि खाली छ।