बुधबार, भदौ १०, २०८३

सोमबारदेखि भारी वर्षाको सम्भावना, सजग हुन अपिल

आगामी सोमबारदेखि पुनः मनसुन सक्रिय हुने भएको छ।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

काठमाडौं- आगामी सोमबारदेखि पुनः मनसुन सक्रिय हुने भएको छ।

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मनसुन पुनः सक्रिय हुने देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

यस वर्ष नेपालमा गत जेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो। त्यसै दिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतलगायत केही स्थानमा बाढीपहिरोले जनधनको समेत क्षति भएको थियो।

त्यसयता पटकपटक ठाउँठाउँमा भारी वर्षा भयो। असार २५ देखि २९ सम्म न्यूनचापीय रेखा नेपाल नजिक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो।

सोही वर्षाका कारण म्याग्दी, कास्की, जाजरकोट र सिन्धुपाल्चोकमा ठूलाठूला पहिरो खसेर जनधनको क्षति भएको थियो।

यही साउन ४ देखि ६ गतेसम्म पुनः न्यूनचापीय रेखा नेपाल नजिक पर्दा मनसुनी वर्षा भएको थियो। यसले मुलुकका धेरै ठूला नदीमा बहाव ह्वात्तै बढ्न गई नारायणी, कोसीलगायत नदी खतराको तहसमेत पार गर्दा ठाउँठाउँमा डुबानसमेत भएको थियो भने कतिपय स्थानमा पहिरो खसेर जनजीवन प्रभावित बनाएको थियो।

सबै मनसुनी वर्षा आउनुपूर्व नै सरकारले जोखिमको चेतावनी दिँदै सतर्कता अपनाउन भने पछि अकस्मात खसेको पहिरोले धेरै मानिसको ज्यान लियो।

सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन केही दिन रहने जनाइएको छ।

नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने जनाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रिमनसुनको समयदेखि नै भारी वर्षा भएकाले यसपटक जमिन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर भित्र चलायमान गराएको भूगर्वविदको भनाइ छ।

भूगर्वविद् शिव बाँस्कोटाले पहिले गएका पहिरो सक्रिय हुनसक्ने तथा जमिन गलिसकेकाले थोरै पानी पर्दासमेत अन्य क्षेत्रमा समेत पहिरो खस्नसक्ने तथा नदीमा एक्कासि बाढी बढ्ने भएकाले थप सतर्कता अपनाउनुपर्ने बताए। -रासस

प्रकाशित: Jul 25, 2020| 18:13 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।