गोरखाको धार्चे गाउँपालिका–७ स्थित नौलीखोलामा माथिबाट खसेको पहिरोले खोला थुनिएर ताल बनेको छ।
ताल फुट्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै अहिले त्यस आसपासका घरपरिवारहरुलाई सुरक्षित स्थानमा सारिएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जोखिम हुन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए। त्यहाँ नेपाल प्रहरी, नेपाली सेना र स्थानीय जनप्रतिनिधिहरु खटिएका छन्।
रातिदेखि माथिबाट पहिरोसँगै ठूला ढुंगाहरु खसेर उक्त खोला पुरिएर ताल बनेको हो। राति १ बजेदेखि उक्त खोला थुनिएर ताल बनेको गुरुङले जानकारी दिए। ‘खोला नजिकैको न्याउली बस्तीका १५ घरपरिवारहरुलाई सुरक्षित स्थानमा सारिसकेका छौं,’ उनले भने, ‘जोखिम हुन सक्ने उक्त खोलाको आसपास क्षेत्रमा रहेका परिवारहरुलाई पनि अन्यत्र सारिसकिएको छ।’
थुनिएको पानी निकास नभएसम्म जोखिम कायमै रहने स्थानीय प्रशासनले जनाएको छ। ठूला–ठूला ढुंगा खसेर ताल बनेका कारणले उपकरण विना पानी निकास गर्न नसकिने अवस्था छ। आज बिहानसम्म पनि माथिबाट पहिरो आउने क्रम जारी नै रहेकाले पनि केही जोखिम बढेको हो।
न्याउली बस्तीसँगै उक्त खोलाको आसपास क्षेत्रमा करिब ५० घरपरिवारको बसोबास रहेको छ। ५० फिट जति क्षेत्रफलमा माथीबाट पहिरो आएर ताल बनेको हो। गोरखाका एसपी गुरुङका अनुसार पानीको निकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न सुरक्षा समितिको बैठक पनि बस्ने तयारीमा रहेको छ।
स्थानीय प्रशासनले त्यस आसपास क्षेत्रमा अहिले तत्काल आवतजावत गर्नमा रोकसमेत लगाएको छ।