नेकपाका स्थायी कमिटी सदस्य एवं ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउने अनि अहिले उहाँले होइन मैले भन्न कसरी सकेको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जवाफ फर्काएका छन्।
आज बिहानै फेसबुकमा पोखरेलले अध्यक्ष दाहालले हिजो पुष्पलाल स्मृति सभामा सम्बोधनमा व्यक्त भनाइको जवाफ फर्काएका हुन्।
‘कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले उहाँले होइन, मैले हो भन्न कसरी सकेको?’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन्।
पोखरेलले पार्टीभित्रका शीर्षस्थ नेताहरुले सार्वजनिक कार्यक्रम र अन्य बैठकहरुमा राख्ने धारणाको प्रायः आफ्नो फेसबुकमार्फत जवाफ फर्काउने गरी धारणा राख्दै आएका छन्।
हिजो आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष दाहालले भारतले नेपाली भूमिसमेत अतिक्रमण गरेर नक्सा जारी गरेपछि तत्कालै पार्टी कमिटी मार्फत् निर्णय गरेरै सरकारलाई नक्सा जारी गर्न भन्दा पनि ढिलाइ गरेको बताएका थिए।
‘हामीले पार्टीको केन्द्रीय कमिटी हुँदै स्थायी र सचिवालयबाट पनि पटक–पटक नक्सा जारी गर्न सरकारको ध्यानाकर्षण गराएका थियौं,’ हिजो आयोजित कार्यक्रममा उनले भनेका थिए।
तर, सरकारले ढिलाइ गर्यो। सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा प्रस्तुत गर्ने दिन नै बसेको सचिवालय बैठकबाटै निर्णय गरेर सोही दिन मुख्यसचिवलाई उक्त कुरा जसरी पनि राख्न लगाउन भनेको पनि दाहालले सम्बोधनमा भनेका थिए।
सोही क्रममा दाहालले पार्टीका हरेक कमिटीबाट भएका निर्णयलाई आफूले मात्रै जस लिएझैँ अर्का अध्यक्ष केपी ओलीले आफू सच्चा राष्ट्रवादी भएको र अरुलाई राष्ट्रघाती देखाउने प्रवृति भएको भन्दै कडा आलोचना गरेका थिए।
दाहालको हिजोको उक्त भनाइकै स्थायी कमिटी सदस्य पोखरेलले जवाफ फर्काएका हुन्। पोखरेल ओली निकट हुन्।