प्रेस काउन्सिल नेपालले कोभिड– १९ को समयमा सञ्चारमाध्यम र त्यसमा कार्यरत पत्रकारलाई थप जिम्मेवार हुन आग्रह गरेको छ ।
काउन्सिलद्वारा आयोजित महामारीमा स्वास्थ्यअन्तर्गत ‘मिडियामा रिपोर्टिङ र पेशागत आचारसंहिता मिडिया संवाद’ कार्यक्रममा कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले स्वास्थ्य क्षेत्र र स्वास्थ्य बिट हेर्ने पत्रकारबीच समन्वय हुनुपर्ने आवश्यकता औँल्याए।
उनले नागरिकस्तरमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्रको धेरै महत्व हुने उल्लेख गर्दै आफ्नो ज्यान जोखिममा राखेर पत्रकारले सूचना दिने, स्वास्थ्यकर्मीले उपचार गर्ने र सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्ने हुँदा यी तीनबीचको तालमेल मिल्न आवश्यक रहेको बताए। पछिल्लो समयमा सामाजिक सञ्चालनको चरम दुरुपयोग भइरहेको बताउँदै उनले त्यसको सही प्रयोग गर्न र दुरुपयोग रोक्न सबैको उत्तिकै भूमिका हुने धारणा व्यक्त गरे।
काउन्सिलका बोर्ड सदस्यद्वय खिलबहादुर भण्डारी र ईश्वरीप्रसाद ओझाले आगामी दिनमा स्वास्थ्यकर्मी र स्वास्थ्य बिटमा लेख्ने पत्रकारबीच सातै प्रदेशमा छलफल गरिने जानकारी दिँदै कस्तो समाचार सम्प्रेषण गर्नेबारे मिडिया र पत्रकार स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिए।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष लोचन कार्कीले सार्वजनिक स्वास्थ्य र मेडिकल जर्नालिस्टबीच एकले अर्कोलाई आरो लगाउनुभन्दा पनि समन्वय गर्नुपर्ने बताउए । मानसिक रोग विशेषज्ञ डा रितेश थापाले हेल्थबिटमा रिपोर्टिङ गर्दा छुट्टै गाइडलाइनको आवश्यकता पर्ने बताए ।
मानसिक रोग विशेषज्ञ डा. केदार मरहठ्ठाले स्वास्थ रिपोटिङले पब्लिकमा पार्ने असरबारे प्रस्तुति दिँदै पत्रकारिताका माध्यमबाट मानिसको जीवन बचाउन पत्रकारको अह्म भूमिका हुने बताए । मनोचिकित्सक सङ्घ नेपालका अध्यक्ष डा सुदर्शन प्रधानले आत्महत्याको समाचार दिनुभन्दा पनि आत्महत्या कसरी रोख्न सकिन्छ भन्ने समाचार लेख्नुपर्ने आवश्यकता औँल्याए।
काउन्सिलका उपप्रशासकीय अधिकृत एवं आचारसंहिता अनुगमन समितिका सचिव रामशरण बोहराले पछिल्लो समय पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने १०१ वटा अनलाइनलाई नेपालभित्र सञ्चालन नहुने गरी बन्द गरिएको जानकारी दिए।
उनले कोभिडकै सन्दर्भमा १४१ वटा सामग्री आचारसंहिताविपरीत आएको र त्यसमा ९० प्रतिशत स्वास्थ्यकै भएको जानकारी दिनुभयो । उहाँले १४१ वटा सामग्रीमा १३० स्वास्थ्यसम्बन्धी सामग्री नै आचारसंहिता प्रतिकूल रहेको बताए । उनले ३० वटा स्वास्थ्यसँग सम्बन्धित उजुरीको उदाहरण दिँदै सुर्तीजन्य तथा मदिराजन्य सामग्रीको विज्ञापन गर्दा अनिवार्य चेतनामूलक सन्देश राख्नुपर्नेमा कतिपयले नराखेको बताए।