काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका क्षेत्रमा यात्रुहरुबाट बढी भाडा असुल्ने १७ र यात्रु बढी बोक्ने ३३ वटा सार्वजनिक सवारीसाधनलाई कारवाही गरेको छ।
लकडाउन खुले लगत्तै सवारी साधनसमेत सञ्चालनमा आएपछि यात्रुहरु ठगी सक्ने भन्दै महाशाखाले विशेष अपरेसन शुरु गरेको हो।
महाशाखाका प्रवक्ता एसपी बामदेव गौतमका अनुसार ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाइएको हो।
‘तोकिएको संख्याभन्दा बढी यात्रु राख्ने ३३ वटा सार्वजनिक सवारी साधनलाई कारवाही गरिएको छ,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड अनुसार नचलाइएका एक हजार १५२ साधनलाई सचेत गराइएको छ।’
सादा पोशाकमै ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने र ५० प्रतिशत भन्दा बढी यात्रु राख्ने विरुद्ध कारवाही चलाइएको हो। यात्रु ठगीका घटना रोक्न र कोरोना संक्रमण रोकथामको लागि सामाजिक दूरी कायम गराउन तथा चालक र यात्रुले अनिवार्य मास्क, सेनिटाईजर लगाएको–नलगाएको र ५० प्रतिशत मात्र यात्रु राखे–नराखेको अनुगमन गर्न महाशाखाले अभियान चलाएको हो।
ट्राफिक प्रहरीले ती सवारी चालकहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार तोकिएको जरिवाना गराएको छ।
महाशाखाले सार्वजनिक सवारी साधनले बढी भाडा लिएको, सामाजिक दुरी कायम नगरेको, स्वास्थ्य मापदण्ड पूरा नगरी चलाएको सुचना नजिकको ट्राफिक प्रहरी वा हटलाईन १०३ मा जानकारी गराउन भनेको छ।